वैदेशिक रोजगारीमा विभिन्न देशमा पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देशमा पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ


काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुर्खेत गुर्भाकोट नगरपालिका घर भएका हाल काठमाडौँ तार्केश्वर नगरपालिका नेपाल टार बस्ने ३६ वर्षीय रमेश कुमार डिसी, रोल्पा गंगादेव गाउँपालिका घर भएका हाल काठमाडौँमा बस्दै आएको ४१ वर्षीय जै बहादुर वली र मकवानपुर थाहा नगरपालिका घर भएका ३८ वर्षीय रविन कार्की रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ मध्ये रमेशले सिंगापुर पठाइदिएछु भन्दै १ जना पीडितबाट १० लाख रुपैयाँ, जै बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रुपैयाँ र रविनले स्लोभाकिया पठाइदिन्छु भन्दै पीडितबाट १० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो ।

उनीहरु सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँको विभिन्न स्थानहरूबाट बुधबार पक्राउ गरेको हो ।

पक्राउ मध्ये रमेश र जै बहादुरलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाएको छ भने रविनलाई प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरीले जनाएको छ ।