नीतिगत र कानुन सुधार गृह मन्त्रालयको पहिलो काम हो: गृहमन्त्री लेखक

नीतिगत र कानुन सुधार गृह मन्त्रालयको पहिलो काम हो: गृहमन्त्री लेखक


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नीतिगत र कानुन सुधार गृह मन्त्रालयको पहिलो काम भएको बताएका छन् ।

शनिबार काठमाडौँस्थित भृकुटीमण्डपमा नेपाल प्रहरी क्लबको भवन उद्घाटन समारोहमा उनले सरकार बनेको करिब सात महिनामा नीतिगत र कानुनी सुधार गृह मन्त्रालयको पहिलो काम भएको बताएका हुन् ।

सोही अनुसार गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको ऐन संशोधनका लागि विधेयक संसद्मा दर्ता गरिएको गृहमन्त्री लेखकले बताए । केही दिनमा उक्त विधेयकमाथि केही दिनमा छलफल हुने उनको विश्वास छ ।

‘नागरिकता सम्बन्धी विधेयक पनि संसदमा दर्ता भएको छ । अब चाँडै अध्यागमन सम्बन्धी ऐन संशोधनका लागि संसदमा लैजाने तयारी छ । यस्तै निर्वाचन सम्बन्धी ऐन पनि अगाडि बढाएका छौँ । जग्गा प्राप्ति सम्बन्धी कानुन संशोधनको काम अगाडि बढेको छ’ उनले भने, ‘यस्तै संघसंस्था सम्बन्धी नयाँ कानुन बनाउने काम अगाडि बढेको छ । तीन वटा कानुन संशोधनका लागि संसद पुगेका छन् । बाँकी विधेयक पनि यसै संसद अधिवेशनमा पुर्‍याउँछौ। चाँडै पास गर्छौ’

नेपाल प्रहरी ऐन सम्बन्धी विधेयकमा सेवा प्रवेश र सेवा निवृत्तको कुरा सुनिश्चित गरेको गृहमन्त्री लेखकको भनाइ छ । साथै उनले प्रहरीबाट आवश्यक सुझाव आए प्रहरी सम्बन्धी विधेयकलाई संशोधन गरेर जाने ठाउँ रहेको बताए । विधेयकमा भएको कमीकमजोरी संसदमा सच्याउन सकिने भन्दै बहस र छलफल सकारात्मक दृष्टिकोणबाट हुनुपर्नेमा गृहमन्त्री लेखकले जोड दिए ।

कार्यक्रममा गृहमन्त्री लेखकले नेपाल प्रहरी क्लबले प्रहरी कर्मचारीको शारीरिक, मानसिक, सामाजिक क्रियाकलापहरू महत्त्वपूर्ण काम गरेको बताए ।

‘क्लबको नयाँ भवनबाट स्तरीय सेवा उपलब्ध हुने विश्वास लिएको छ । यो क्लबमा उपलब्ध सेवाबाट सहकार्य, आत्मविश्वास र अनुशासन कायम गराउने विश्वास छ’ गृहमन्त्री लेखक भने । यस्तै गृहमन्त्री लेखकले लागू औषध दुर्व्यसनी, सडक दुर्घटना, आत्महत्या र सामाजिक संजालको दुरुपयोग मुख्य चुनौती देखिएको बताए ।