माओवादीले राजनीतिक थिति तोड्योः उपराष्ट्रपति बनिसकेका पासाङ पार्टीको उत्पादन विभाग प्रमुख

माओवादीले राजनीतिक थिति तोड्योः उपराष्ट्रपति बनिसकेका पासाङ पार्टीको उत्पादन विभाग प्रमुख


काठमाडौं– नेपाली राजनीतिमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले थिति बिराएको छ।

दुई पटक संवैधानिक पदमा निर्वाचित गराएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनः पासाङलाई पार्टीमा सक्रिय बनाउँदै उत्पादन विभागको प्रमुख बनाएपछि थिति बिग्रिएको छ।

पहिलो राष्ट्रपति रामवरण यादव र उपराष्ट्रपति परमानन्द झा राजनीतिमा सक्रिय छैनन्। दोस्रो राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारी एमालेबाट निर्वाचित भइन्। विद्या भण्डारीका निमित्त राष्ट्रपतिका रुपमा पासाङले दुई कार्यकाल काम गरेका थिए।

एमालेले भण्डारीलाई पनि सक्रिय बनाउने चर्चा चल्दा आलोचना भइरहेका बेला माओवादीले पासाङलाई सक्रिय बनाएको छ।

राष्ट्रिय सभाका सांसद जीतजङ्ग बस्नेतले प्रश्न गरेका थिए,‘संवैधानिक पदको गरिमा राख्नका लागि माओवादीलाई आग्रह गर्छु। पासाङलाई राजनीतिमा सक्रिय नबनाइयोस्।’

तर पासाङ सक्रिय छन्। पासाङ पछिल्ला दिनमा सुन प्रकरणदेखि सहकारी प्रकरणमा छोरा दीपेश पुनःका कारण विवादमा आएका थिए।
उनको राजनीतिक विगत भने साधारण र संघर्षको रहेको थियो।

प्रवेशिका परीक्षा उत्तीर्ण भएपछि पासाङले पार्टी कामको साथसाथै शिक्षण पेसा पनि अँगाले। विसं २०४३ देखि आठ वर्षसम्म पहिले आफूले पढेको निमावि राङ्सीमा अध्यापन गरे।

पूर्वमन्त्री जयपुरी घर्ती, नेकपा–माओवादीकी नेत्री तारा घर्तीलगायतलाई उनले पढाएका थिए।

विभिन्न खेलमा रुचि भए पनि भलिबल पासाङको प्राथमिकतामा पर्छ।

बाल्यकालदेखि नै अन्याय नसहने स्वभावका पुनले रोल्पाको राजनीतिमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरे जुन सङ्घर्ष सशस्त्र सङ्घर्षको आधार निर्माण थियो।

दर्जनौँ विपक्षीलाई लट्ठीले एकसाथ प्रहार गर्न सक्ने उनको कला रोल्पामा अहिले पनि तारिफ हुन्छ, जुन कला उनीको बुबाले सिकाए।

माओवादी पार्टी नबन्दै तत्कालीन एकता केन्द्रले २०४८ पछि योङ् कम्युनिष्ट लिग (वाइसीएल) लाई लडाकु दस्ता बनाएर राजनीतिक गतिविधि चलायो। त्यसबखत पुन वाइसिएलको रोल्पा जिल्ला अध्यक्ष थिए।

सशस्त्र सङ्घर्षअगावै स्थानीय प्रशासनले पुनको टाउकाको मूल्य तोकेको थियो।

माओवादीको पहिलो रोल्पा जिल्ला सदस्य भएपछि बढी निगरानीमा राखेको उनीले रासससँगको कुराकानीमा नै बताएका थिए।

विसं २०५१ को स्थानीय चुनावका बेलामा पक्रेर १५ दिन हिरासतमा राखियो। विसं २०५१ मङ्सिर ९ गते गाउँको स्थानीय मेलामा  प्रहरीले पक्राउ गर्न खोज्यो। लट्ठी चलाउन माहिर पुनले प्रहरीलाई लट्ठीले ढालेर भाग्दै गर्दा गोली चलायो। उनको पाखुरामा गोली लाग्यो। तर बाँच्न सफल भएका थिए।

विसं २०४६ मा पार्टी सदस्य बनेका पासाङ एकता महाधिवेशनबाट बनेको एकता केन्द्रको सदस्य तथा युवक सङ्गठनको सदस्य हुँदै जिम्मेवारी बढ्दै जाँदा २०४८ सालदेखि पूर्णकालीन भएर राजनीति सुरु गरे।

कृष्णबहादुर महरा सचिव, सन्तोष बुढा, करुण, प्रताप र पासाङ रहेको पाँच सदस्यीय जिल्ला समिति बन्यो।

जनयुद्धको तयारी गर्दा वाइसिएलको जिल्ला अध्यक्ष र सैन्य प्रशिक्षक रहेका पासाङ होलेरी आक्रमण गर्दा उत्तरपश्चिम र दक्षिण कमाण्डका लडाकु दलको इन्चार्ज र आक्रमणको सहकमाण्डर बनेका थिए।

माओवादी सेनाको बटालियन कमिसार, बटालियन कमाण्डर, ब्रिगेड कमाण्डर, डिभिजन कमाण्डर, डिपुटी कमाण्डर र जनसेना प्रमुख बनेका थिए।
शान्ति प्रक्रिया, संविधान सभाको निर्वाचन र नयाँ संविधान जारी भएपछि उनी दुई पटक उपराष्ट्रपतिमा निर्वाचित भएका थिए।