सिरुको पातमा गुँड बनाएर बस्ने खरमजुर लोपको सँघारमा

सिरुको पातमा गुँड बनाएर बस्ने खरमजुर लोपको सँघारमा


काठमाडौ । नेपालको घाँसे मैदानमा पाइने सुन्दर चरा खरमजुर नेपालमा लोप हुने अवस्थामा पुगेको छ । सिरुको पातमा गुँड बनाएर बस्ने लजालु प्रकृतिको यो चरा घाँसे मैदानको पारिस्थितिक प्रणालीमा महत्वपूर्ण मानिन्छ । नेपालमा यो करिब एक सयको सङ्ख्यामा रहेको अनुमान छ । नेपालको बाहिरी वातावरणमा खासै नदेखिने खरमजुर चार वटा संरक्षित क्षेत्रमा अस्तित्वमा रहेकोमा केहीमा भोलिका दिनमा देख्न नपाइने गरी लोपको सँघारमा पुगेको पन्छीविद् सङ्घका अध्यक्ष लक्ष्मणप्रसाद पौड्यालले बताउनुभयो । नेपालको कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा निकुञ्जको घाँसे मैदानमा खरमजुर भेटिन्छन् ।

खरमजुरका बारेमा उहाँलगायत संरक्षणकर्मीले प्रकाशित गरेका अध्ययन अनुसार बर्दियामा खरमजुर देखिन छाडेको १० वर्ष बित्यो । उहाँले भन्नुभयो, “अन्यत्र पनि हरेक वर्ष खरमजुर देखिने क्रम कम हुँदै गएको छ ।” बर्दियामा सन् २०११ देखि २०२४ सम्म खरमजुर नदेखिएको अध्ययनले देखाएको छ । अन्यत्र पनि कम हुँदै गएको देखिएको छ । नेपालमा सन् १९८२ देखि खरमजुरको अध्ययन र संरक्षणकारी काम हुन थालेको पाइन्छ । जस अनुसार त्योबेला सबैभन्दा बढी १५ वटा शुक्लाफाँटामा खरमजुर पाइएको थियो ।

त्यसपछि सन् १९९० मा १७ वटा देखिएको थियो । त्यसपछि लगातार घट्दै सन् २००० मा १२ वटा, सन् २००७ मा १० वटा, २०१५ मा आठ वटा, २०२१ मा सात वटा, २०२३ मा पाँच वटा र २०२४ मा एक वटा मात्र खरमजुर भेटिएको छ । चितवनमा सन् १९८२ मा आठ वटा देखिएको खरमजुर २००१ मा चार वटा र २००७ मा पाँच वटा देखिएकोमा सन् २०१२ मा सबैभन्दा बढी ११ वटा देखिएको थियो । त्यसपछि फेरि घट्दै सन् २०१५ मा छ वटा, सन् २०२१ मा एक वटा, २०२३ मा दुई वटा र २०२४ मा एक वटा मात्र खरमजुर भेटिएको छ ।

बर्दियामा सन् १९८२ मा नौ वटा, १९९६ मा छ वटा, १९९८ मा नौ वटा, २००५ सम्म पाँच वटा हुँदै घट्ने क्रममा सन् २००६ र २००७ मा एक वटा देखिएको थियो । त्यसपछि हराएको खरमजुर फेरि २०१० मा एक वटा देखियो । सन् २०११ देखियता भने एक वटा पनि नदेखिएर लोप भएको अनुमान छ ।

सन् १९८२ देखि २०२४ को बच्चा कोरल्ने समयमा चैत, वैशाख र जेठमा यसको अध्ययन गरिँदै आएको छ । कोशीटप्पुमा भने घटबढको अवस्था बराबर जस्तै देखिएको छ । सन् १९८२ मा चार वटा मात्र देखिएको खरमजुर सन् २०१२ मा ४७ वटा भेटिएको थियो । त्यसपछि सन् २०१५ मा ३६ वटा, सन् २०१७ मा ४१ वटा, सन् २०२१ र २०२२ मा २१, २०२३ मा २४ वटा र २०२४ मा ३२ वटा खरमजुर भेटिएका छन् । यसले पनि कोशीमा सन्तोषजनक सङ्ख्या रहेको मान्नुपर्ने पौडेलले बताउनुभयो । उहाँका अनुसार नेपाल, भारत र कम्बोडियामा पाइने खरमजुर आइसिएनले सङ्कटापन्न चराको सूचीमा राखेको छ । नेपाल बर्ड रेड डाटा बुकले पनि यसलाई अति सङ्कटापन्नको सूचीमा राखेको छ । नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित पन्छीका रूपमा सूचीकृत गरेको छ ।