फिफा अध्यक्षमा इन्फान्टिनोलाई एसियाली फुटबल महासंघको समर्थन

फिफा अध्यक्षमा इन्फान्टिनोलाई एसियाली फुटबल महासंघको समर्थन


काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) का प्रमुखले जियानी इन्फान्टिनोलाई फिफा अध्यक्षमा अर्को कार्यकालका लागि समर्थन गर्ने बताएका छन् ।

एएफसीमा ४७ सदस्य राष्ट्र छन् । ती सबैले शुक्रबार एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाको निर्देशनअनुसार समर्थन नगरे पनि समर्थन गर्ने सदस्य राष्ट्रहरू इन्फान्टिनोलाई अर्को कार्यकाल दिलाउन निर्णायक हुन सक्छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नेतृत्व गरिरहेका इन्फान्टिनो चौथो कार्यकालका लागि प्रयासरत छन् ।

फिफाको निर्वाचन मार्चमा हुँदैछ । इन्फान्टिनोविरुद्ध उम्मेदवारी दिन नोभेम्बर १८ सम्मको समय छ । अहिलेसम्म कसैले पनि उम्मेदवारी दर्ता गराएका छैनन् ।

शुक्रबार टोकियोमा भएको एएफसीको विशेष महाधिवेशनमा शेख सलमानले इन्फान्टिनोलाई अँगालो हाल्दै सदस्यहरूका सामु उनको समर्थनमा अभिव्यक्ति दिएका थिए ।

‘फिफा अध्यक्षका रूपमा नयाँ कार्यकालका लागि तपाईंले गर्ने प्रयास र तपाईंको नेतृत्वलाई समर्थन गर्न हामी पूर्ण प्रतिबद्धता व्यक्त गर्छौँ,’ शेख सलमानले भने ।

‘तपाईंले एसियाका धेरै देशको भ्रमण गर्नुभएको छ । मैले यस महादेशका धेरै सदस्यसँग कुरा गरेको छु । म तपाईंको भावना बुझ्छु र तपाईंको प्रतिबद्धता पनि स्पष्ट छ भन्ने मलाई लाग्छ,’ उनले भने ।

इन्फान्टिनोलाई सम्बोधन गर्दै शेख सलमानले एएफसीका सबै सदस्यले समर्थन नगर्न सक्ने संकेत गरे पनि अधिकांश सदस्य उनको पक्षमा रहेको बताए ।

‘मलाई लाग्छ, मेरो यो भावना अधिकांश सदस्यको पनि हो । मैले तपाईंलाई यो कुरा भनिसकेको छु,’ एएफसी अध्यक्षले भने ।

एएफसीको अचानक बदलिएको धारणा

शेख सलमानको यो अभिव्यक्ति उनको अघिल्लो अडानभन्दा पूर्णतः फरक छ । दुई महिनाअघि मात्रै एएफसीले युरोपेली फुटबल महासंघ र उत्तर तथा मध्य अमेरिकी फुटबलका निकायसँग मिलेर इन्फान्टिनोले ‘विश्वासको आधारभूत उल्लङ्घन’ गरेको आरोप लगाएको थियो ।

फिफाका ३७ सदस्यीय शासकीय परिषद्का अध्यक्षसमेत रहेका इन्फान्टिनोले गत साता ज्युरिखमा परिषद्समक्ष आफूले गरेका ‘गल्ती’का लागि माफी मागेका थिए । उनले विश्वकपसहित फिफाका विभिन्न प्रतियोगितामा निजी लगानीकर्तालाई हिस्सेदारी बेच्ने ४ अर्ब २० करोड अमेरिकी डलरको योजना अघि सारेका थिए । उक्त योजना अहिले रद्द भइसकेको छ ।

शेख सलमानले आफ्नो सम्बोधनमा इन्फान्टिनोसँग विगतमा मतभेद रहेको स्वीकार गरे पनि त्यसबारे विस्तृत चर्चा गरेनन् ।

‘जियानी, म स्पष्ट पार्न चाहन्छु—हो, विगतमा हामीबीच केही विषयमा मतभेद थिए र हामीले त्यसबारे कुरा पनि गरेका थियौँ,’ उनले भने, ‘तर ती दुई विषयलाई एकै ठाउँमा जोडेर हेर्नु हुँदैन । पछिल्ला केही दिनमा ज्युरिखमा हाम्रो भेट हुँदा तपाईंले हामीबीच वास्तविक समझदारी रहेको स्पष्ट पार्नुभयो ।’

‘विगत हाम्रो इतिहासको एउटा हिस्सा हो भन्ने मलाई लाग्छ । हामी सबैले त्यसबाट महत्त्वपूर्ण पाठ सिकेका छौँ । अहिले महत्त्वपूर्ण कुरा भनेको हामी कसरी मिलेर अगाडि बढ्छौँ भन्ने हो । सबैका प्रश्न छन् र ती प्रश्नको जवाफ एसियामा हामीले मात्र होइन, बाँकी विश्वले पनि पाउनेछ भन्ने मलाई विश्वास छ,’ उनले थपे ।

विश्वभर समर्थन जुटाउँदै इन्फान्टिनो

फिफाको सञ्चार कार्यालयले इन्फान्टिनोले विश्वभर गरिरहेका भ्रमणलाई प्रचार गर्दै आएको छ । ती भ्रमणका क्रममा उनले साना तथा ठूला फुटबल राष्ट्रलाई लाखौँ डलर थप आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धतासहित समर्थन जुटाउने प्रयास गरिरहेका छन् ।

‘यहाँ आउनुभएकोमा धन्यवाद,’ शेख सलमानले इन्फान्टिनोलाई भने, ‘तपाईं संसारभर पुग्नुभएको छ । तपाईंले यो सबै कसरी गर्न सक्नुहुन्छ भन्ने मलाई थाहा छैन । तर, तपाईंले लगभग हरेक देश पुगेर कीर्तिमान बनाइसक्नुभएको छ भन्नेमा मलाई विश्वास छ ।’

शेख सलमानले ठट्टा गर्दै इन्फान्टिनोको अर्को प्रतिरूप अर्थात् ‘क्लोन’ नै हुन सक्ने बताए ।

उनको यो टिप्पणीले सभामा हाँसो फैलियो । तर, छोटो सम्बोधनको अन्त्यमा इन्फान्टिनोप्रतिको समर्थन दोहोर्‍याउँदा सबैभन्दा ठूलो ताली बजेको थियो ।

‘एसियाली परिवारका रूपमा हामी एकताबद्ध भएर अगाडि बढ्न र तपाईंलाई समर्थन गर्न तयार छौँ, जियानी,’ शेख सलमानले भने, ‘आज म यो कुरा स्पष्ट पार्न चाहन्छु ।’

एएफसीको समर्थनप्रति इन्फान्टिनो आभारी

शेख सलमानपछि सम्बोधन गर्न मञ्चमा पुगेका इन्फान्टिनोले हल्का शैलीमा आफ्ना कुरा राखे । उनले भने, आफूबाट केही गल्ती भएको स्वीकार गर्दै त्यसबाट सिक्नुपर्नेमा जोड दिएका छन् ।

‘जब तपाईं धेरै काम गर्नुहुन्छ, आशा छ हामीले जस्तै धेरै राम्रा काम पनि गर्नुहुन्छ, तब केही गल्ती पनि हुन्छन्,’ इन्फान्टिनोले भने ।

‘तर महत्त्वपूर्ण कुरा भनेको तपाईंले भन्नुभएजस्तै अनुभव र गल्तीबाट सधैँ सिक्नु, माफी माग्नु, अगाडि बढ्नु, एकजुट हुनु र हाम्रो भविष्य निर्माण गर्नु हो,’ उनले थपे ।

इन्फान्टिनोको नेतृत्वमा फिफाबाट सदस्य राष्ट्रहरूलाई उपलब्ध हुने आर्थिक सहयोग बढेको विषय उल्लेख गर्दा सबैभन्दा ठूलो ताली बजेको थियो ।

‘म फिफा अध्यक्ष बन्नुअघि तपाईंहरूमध्ये प्रत्येकले—तपाईंहरूमध्ये केही अझै यहाँ हुनुहुन्छ र त्यो समय सम्झनुहुन्छ होला—हरेक चार वर्षमा १० लाख अमेरिकी डलर पाउनुहुन्थ्यो,’ इन्फान्टिनोले भने ।

‘आगामी वर्ष जनवरी १ देखि यो रकम २ करोड ५० लाख अमेरिकी डलर हुनेछ,’ उनले थपे ।