काठमाडौँ । प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
मंगलबारको बैठकमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले बोलेपछि रास्वपा सांसद गणेश पराजुलीले आपत्ति जनाएका थिए। आकस्मिक र शून्य समय सकिएपछि खतिवडालाई बोल्न दिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
उनले कुन पद्धतिअनुसार खतिवडालाई बोल्न दिएको भन्दै प्रश्न गरे । यो खुलाउन नसके उनको भनाई रेकर्डबाट हटाउन माग गरे ।
यता, उपसभामुख इन्दिरा रानाले भने आकस्मिक समयमा खतिवडालाई बोल्न दिन बिर्सेकाले अहिले बोल्न दिएको बताइन् । उनले यसबारे अध्ययन गरेर निर्णय गर्न संसद् सचिवालयलाई निर्देशन पनि दिइन् ।
त्यसपछि प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । पछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरिएको जानकारी गराए ।
प्रतिक्रिया