काठमाडौं- प्रतिनिधिसभाको बैठक विधि–प्रक्रियाअनुसार चलाउनु पर्ने माग राख्दै प्रतिपक्षी दलका सांसदहरुले वैठक नै अवरुद्ध गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय र शून्य समयको प्रक्रिया पूरा भइसकेपछि सभामुखको आसनमा रहेका उपसभामुख इन्दिरा राना मगरले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न समय दिइन् । खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने लक्षित गर्दै अभिव्यक्ति दिए ।
नेपाल प्रहरीलाई दुरुपयोग गरियो भन्ने समाचार सुन्नमा आएको उल्लेख गर्दै उनले भने, ‘तर, हामीले को गृहमन्त्री हुँदा देखेका थियौं–एक नम्बरकोलाई नबनाएर १५ नम्बरकोलाई प्रमोशन गरेको हामीले हिजो देख्यौं।’ खतिवडाले अगाडि भने, ‘आईजीलाई समितिमा बोलाएर निर्दोष छ भन्देन भनेर कानेखुसी गरेको पनि सुन्यौं। कल्ले सदुपयोग गर्यो, कल्ले दुरुयोग गर्यो ? हामीले हेर्नुपर्ने बेला भएको छ ।’
तर, खतिवडाले नाम भने कसैको लिएनन् । उनले विगतका गृहमन्त्रीको कार्यका स्मरण गर्दै भने, ‘प्रहरीमा हाइजम्प, लङजम्प लागु गरियो । दुई ब्याच पछाडिकोलाई प्रमोसन गरियो ।’ यति मात्रै नभएर प्रहरीमा ५२ दिन नपुगी सरुवा गरेर आफ्ना मान्छे लाने काम भएको भनेर उनले यसको पनि जवाफ खोजिनुपर्ने बताए । बहस गर्ने वकिलाई गालामा हानिएको भनेर कटाक्ष गरे ।
अदालतमा मुद्दा चलिरहँदा बाहिर जिन्दावाद र मुर्दावाद भन्ने प्रचलन सुरु भएको उल्लेख गर्दै उनले यो कसले गरेको हो भनेर जवाफ खोजिनुपर्ने बताए । सदनमा एउटा कुरा, बाहिर अर्को कुरा गर्ने, सरकारमा हुँदा एउटा कुरा गर्ने र सरकारमा नहुँदा अर्को कुरा गर्ने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताए । सांसद खतिवडाले अदालत परिसरमा कानुन व्यवसायी कुटिएकोलगायतका विषयमा आफ्नो धारणा राखे । सांसद खतिवडाले आफ्नो मन्तव्य राखे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नियमापत्ति जनाए ।
उनले सत्तापक्षीय सांसदलाई कुन नियममा रहेर आकस्मिक र शून्य समय सकिएपछि बोल्न दिइयो भन्दै प्रश्न गरे । सभामुखको आसनमा रहेकी उपसभामुखले सांसद खतिवडाले आकस्मिक समयमा नै नाम टिपाएको भए पनि छुटेका कारणले बोल्न दिइएको बताइन् ।
नेकपा (माओवादी केन्द्र) लगायतका विपक्षी दलका सांसदले कुन विधि र प्रक्रियाका आधारमा सत्ता पक्षीय सांसदलाई पटक–पटक बोल्न दिइएको हो भन्दै प्रश्न उठाएपछि उपसभामुख रानाले यसमा के भएको हो अध्ययन गर्न सचिवालयलाई निर्देशन दिइसकिएको बताइन् । तर पनि विपक्षी दलका सांसदहरुले चित्त बुझाएन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकलाई विधि र प्रक्रियाअनुसार चलाउनु पर्ने बताए । विपक्षी दलको लगातारको विरोधपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी गराए ।
प्रतिक्रिया