दैलेख । स्थानीयलाई रोजगारीसँगै जलविद्युत् आयोजनाको मालिक बनाउने मीठो सपना देखाएर २०६७ सालमा दैलेखको डुङ्गेश्वर गाउँपालिकामा २.१५ मेगावाटको पराजुली खोला जलविद्यत् आयोजना निर्माण थालियो । स्थानीयस्तरमा रोजगारी, बिजुलीसँगै आयोजनामा स्थानीयलाई शेयर पनि दिने गरी डुङ्गेश्वर गाउँपालिका– ४ स्थित पराजुली खोलामा रारा हाइड्रोपावर डेभलपमेन्ट नामक कम्पनीले काम अघि बढायो । उक्त आयोजनामा कर्णाली प्रदेश सरकारसँगै डुङ्गेश्वर गाउँपालिकाले अपनत्व ग्रहण गर्न लगानी गर्ने घोषणा गरेका थिए ।
सो आयोजनाका लागि प्रदेश सरकारले ५ करोड र डुङ्गेश्वर गाउँपालिकाले २५ लाख रुपैयाँबराबरको शेयर लगानी गर्ने घोषणा गरेका थिए । २३ चैत २०७८ मा बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट प्रदेश सरकारको जनताको जलविद्युत् (सञ्चालन र व्यवस्थापन) कार्यविधि २०७५ बमोजिम अपर पराजुलीमा ५ करोड शेयर लगानी गर्ने निर्णय भएको थियो । तत्कालीन सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टद्वारा जारी प्रेस नोटमा प्रदेश सरकारले २.१५ मेगावाटको अपर पराजुली खोला जलविद्युत् आयोजनाको प्रवर्तक रारा हाइड्रोपावर कम्पनीले गरेको आग्रहबमोजिम विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि शेयर कायम हुने गरी रकम सुनिश्चितताको प्रतिबद्धता जनाएको उल्लेख थियो ।
घरछेउमै आयोजना बन्न लागेपछि स्थानीयले पनि २५ हजारदेखि ५ लाखसम्म शेयरबापत लगानी गरेका थिए । स्थानीयको मात्रै होइन, सुर्खेत, दैलेखलगायत जिल्लाका अन्य लगानीकर्ताले करोडौँ रकम लगानी गरेका थिए । आयोजना कार्यान्वयन गर्दा चार किलोमिटरभन्दा बढीको नहर बनाउनुपर्ने थियो । सो नहर निर्माण गर्दा स्थानीय झण्डै ५० घरपरिवारले एक रुपैयाँ पनि नलिई आयोजना अगाडि बढाउन दिएका थिए । घरआँगनमै बन्न लागेको आयोजनाबाट लाभ पाइने आसले जग्गाको मुआब्जा पछि लिने भन्दै स्थानीयले खेतबारी निर्माण कम्पनीलाई सुम्पिएका थिए । तर, स्थानीयको त्यो आशा १४ वर्षपछि भने निराशामा बदलिन पुगेको छ ।
स्थानीय तथा प्रदेश सरकारले अपनत्व ग्रहण गरी प्राथमिकताका साथ अघि बढेको आयोजना निर्माणको जिम्मा लिएको रारा हाइड्रोका सञ्चालकहरूको बदनियतका कारण सरकार, स्थानीय तथा अन्य लगानीकर्ताको लगानी भने अन्ततः डुब्ने चरणमा प्रवेश गरेको छ । रारा हाइड्रोपावर कम्पनीका अध्यक्ष नरसिंह मल्ल, शङ्करलाल वैद्य र मङ्गल विश्वकर्मालगायतका व्यक्तिको असक्षमताका कारण उनीहरू आफू मात्रै डुबेका छैनन्, सिङ्गो आयोजनाको भाग्य र भविष्य अन्योलमा परेको छ भने स्थानीयलाई घर न घाटको हुने स्थिति सिर्जना भएको छ ।
स्थानीय जग्गाधनी र मजदुरलाई शेयरको मालिक बनाउने भन्दै मोटो रकम असुलेको कम्पनीका सञ्चालक सम्पर्कविहीन भएपछि स्थानीयको आशा निराशामा परिणत भएको छ । कम्पनीका सञ्चालकहरूको बदनियतका कारण ५० जना स्थानीयको सर्वस्व मात्रै गुमेको छैन, बैंकबाट लिएको ऋण चुक्ता नगर्दा सिङ्गो आयोजना नै ध्वस्त हुने चरणमा पुगेको छ । आयोजना निर्माणमा संलग्न मजदुर तथा निर्माण व्यवसायीसमेत ठगिएका छन् ।
कम्पनीले बैंकको कर्जा भुक्तानी नगरेपछि तीनवटा बैंकले सिङ्गो आयोजनालाई लिलाम प्रक्रियामा प्रवेश गराएका छन् । कम्पनीले एभरेस्ट बैंकको अगुवाइमा सिद्धार्थ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट सहवित्तीयकरण कर्जा उपभोग गरेको थियो । तर, सञ्चालकहरू लिएको कर्जाको सावाँ, ब्याज आदि भुक्तानी नगरी सम्पर्कविहीन भएपछि बैंकले लिलामी प्रक्रिया अघि बढाएको हो । बैंकले लिलामी प्रक्रिया थालेसँगै आयोजनास्थलमा बनेका सम्पूर्ण संरचनाहरूको भविष्य अन्योलमा परेको छ । ३२ करोड लागत रहने भनिए पनि ४२ करोड खर्च हुँदासमेत आयोजनाले पूर्णता नपाई अलपत्र परेको छ ।
स्थानीयस्तरमा बन्न लागेको आयोजनामा कम्पनीका सञ्चालकहरूको बदमासीका कारण स्थानीयको लगानीसँगै घरखेत गुम्ने अवस्था आएको बताउँछन् डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसी । बैंकले स्थानीयको जग्गासँगै बनेका सम्पूर्ण संरचना लिलाममा हालेपछि स्थानीयको भविष्य के हुने भन्नेमा चिन्ता थपिएको केसीले बताए ।
यति मात्रै होइन, गाउँपालिकाले शेयरबापत लगानी गरेको २५ लाखसमेत डुब्ने अवस्थामा पुगेको उनको भनाइ छ । यसअघिका पालिका अध्यक्ष नगेन्द्र मल्लका पालामा आयोजनामा २५ लाख लगानी गरिएको बताइए पनि प्रमाणित कागजात नहुँदा थप समस्या भइरहेको उनको भनाइ छ । आयोजनाका सञ्चालकहरूको बदमासीबाट ठूलो संख्यामा स्थानीयको उठिबास लाग्ने स्थिति बनेको उल्लेख गर्दै अध्यक्ष केसीले संरचना बनेकै कारण स्थानीयको जग्गा लिलामी गर्न नहुने बताए ।
आयोजनाका भौतिक संरचना निर्माण क्षेत्रका केही नागरिकले थोरै रकम प्राप्त गरेको भए पनि अधिकांश नागरिकले झण्डै १३ वर्षयता जग्गाको उपभोग गर्न नपाएको डुङ्गेश्वर गाउँपालिका– ४ का वडाध्यक्ष नगेन्द्र बुढा बताउँछन् । उनका अनुसार स्थानीयहरूले आयोजनामा २५ हजारदेखि ५ लाखसम्म शेयर लगानी गरेका छन् । सीमित व्यक्तिको स्वार्थले सिङ्गो आयोजनाको भविष्य नै अन्योल हुनु दु:खद रहेको उल्लेख गर्दै वडाध्यक्ष बुढाले कुनै पनि बहानामा स्थानीयलाई पीडित बनाउन र आयोजनालाई अन्योलमा पार्न नहुने बताए ।
यता आयोजनामा झण्डै ९० लाख रुपैयाँ शेयर लगानी गरेका भक्तपुरका बाबुकाजी श्रेष्ठ तनावमा छन् । जायजेथा बेचेर रारा हाइड्रोमा शेयर लगानी गरेका श्रेष्ठ सञ्चालकहरूको बदमासीका कारण आफ्नो लगानी डुब्ने चिन्तामा छन् । कम्पनीका अध्यक्षलगायत व्यक्तिका कारण आफ्नो बदनाम भएको बताउँदै उनले अब कसरी अघि बढ्ने भन्ने विषयमा अन्योल रहेको बताए ।
डुङ्गेश्वर गाउँपालिका– ४ की धर्मेकुमारी बुढाले उक्त कम्पनीमा शेयरबापत ५ लाख लगानी गरेको बताउँछिन् । त्यति मात्र होइन उनले आयोजना निर्माणमा संलग्न मजदुर, आयोजनाका कर्मचारीलगायतलाई दैनिक उपभोग्य सामग्री दिएबापत झण्डै २० लाख रुपैयाँ फसाएकी छन् । आयोजना मात्रै होइन, स्थानीयहरूको जग्गासमेत बैंकले लिलाम गर्न खोजेपछि बुढाको निद हराम भइरहेको छ ।
यता, सञ्चालकमध्येका शङ्करलाल वैद्यले बैंकको ऋणकै कारण स्थानीयलाई समस्यामा पर्न नदिने दाबी गर्छन् ।सञ्चालक समिति र लगानीकर्ताहरू छलफलमा रहेको उल्लेख गर्दै आफूहरू डुबे पनि आयोजना र स्थानीयलाई कुनै पनि समस्यामा पर्न नदिने वैद्यको दाबी छ । यद्यपि उनले दाबी गरेअनुसार समस्या समाधानको स्पष्ट खाकाका बारेमा भने वैद्यले प्रस्टयाउन सकेनन् । सञ्चालकहरूले आयोजनाका लागि खरिद गरेको जग्गामा समेत घोटला गरेका छन् । कम्पनीका सञ्चालकले स्थानीयबाट ९ लाख ५० हजार रुपैयाँमा खरिद गरेको जग्गा कम्पनीलाई भने ६० लाखमा बिक्री गरेकाे समेत आरोप छ ।
२१ जनाको सम्पत्ति लिलाम गर्दै एभरेस्ट बैंक
एभरेस्ट बैंकले लामो समयसम्म बैंकको कर्जा चुक्ता नगर्ने आयोजनाका २१ जना लगानीकर्ताको सम्पत्ति लिलाम गर्ने प्रक्रिया अघि बढाएको छ । काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका– ४ मा रहेको हाइड्रोले कर्जा लिँदा विभिन्न २१ जना जमानीमा बसेका छन् । बैंकले तोकेको समयमा कर्जा नतिरेका उनीहरूको नाममा रहेको धितो लिलाम गर्ने प्रक्रिया अघि बढाएको हो । लगानीको अगुवाइ गरेको एभरेस्ट बैंकले ३ माघमा सूचना प्रकाशित गरी लिलामीको प्रक्रिया अघि बढाइसकेको छ ।
बैंकले ३४ करोड सावाँ र १० करोड ब्याज रकम सञ्चालकहरूले तिर्न आनाकानी गरेपछि आयोजनाको लिलामी प्रक्रिया थालिएको जनाएको छ । व्यक्तिगत तथा संस्थागत जमानीमा रारा हाइड्रोका साथै दैलेखको अवलपराजुलका नरसिंह मल्ल, दैलेखकै रामकुमारी मल्ल, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ की यात्राकुमारी नेपाली, पोखरा महानगरपालिका–१ का शङ्करलाल वैद्यको नाम बैंकले सार्वजनिक गरेको छ ।
यस्तै, भक्तपुरका सुनिल छुजु, काठमाडौं महानगरपालिका–४ का भीमेन्द्रबहादुर सिलवाल, सुर्खेतका मङ्गल विश्वकर्मा, भक्तपुरका बाबुकाजी साय श्रेष्ठ र सुर्खेतका शिवराज जैशी अधिकारीको नाम बैंकले ऋण नतिर्नेमा राखेको छ ।
काठमाडौं महानगरपालिका– ३२ का विष्णु बस्नेत, सुर्खेतका झकबहादुर मल्ल, बाँकेको नेपालगञ्ज–५ का राजेशनारायण श्रेष्ठ, बुटवल नगरपालिका– ६ का मानबहादुर विश्वकर्मा, सुर्खेतका गोपालप्रसाद पौड्याल, गुल्मीका रत्नबहादुर थापा, बाँकेका अशोककुमार रोकाया, बाँकेकै मनकामना ग्यास उद्योग, काठमाडौं सितापाइलाका प्रतीक वैद्य र ललितपुर उपमहानगरपालिका– ३ का नरेशबहादुर श्रेष्ठको नाम बैंकले सार्वजनिक गरेको छ ।
बैंकले रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको नाममा मालपोत कार्यालय दैलेखमा दर्ता स्रेस्ता कायम भएको तत्कालीन अवलपराजुल गाविस वडा नं. ४ र ५ स्थित कित्ता नं. २९४, २९२, २९८, २८९, ३०२, २७३, २६१, २६४, २७५, २५९, २७०, २६६, ८०५, ७९७, ७९९, ८०२, ८०७, ४२७, ४२९, ७९२ र ७९५ को जम्मा क्षेत्रफल ११ हजार ४५ वर्ग मिटर जग्गा लिलाम गर्न लागेको छ । यस्तै, साविक पिलाडी गाविस– ६ स्थित कित्ता नं. १९१ को क्षेत्रफल १ हजार ७० वर्गमिटरको जग्गा तथा उक्त जग्गामा हाल निर्माणाधीन विद्युत्गृह, पावर हाउस, विद्युत् उत्पादन तथा विस्तारका लागि ऋणी कम्पनीका तर्फबाट तयार गरिएको सम्पूर्ण विद्युतीय सञ्जाल तथा उक्त विद्युत गृहमा जडित्त विभिन्न यन्त्र, उपकरण, मेसिनरिज तथा अन्य घर, भवन, कार्यालय, पर्खाल तथा अन्य निर्माण कार्यहरूसमेत लिलाममा परेका छन् ।
कम्पनीका अध्यक्ष नरसिंह मल्लका नाममा मालपोत कार्यालय सुर्खेतमा दर्ता स्रेस्ता कायम भएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ७ स्थित कित्ता नं. ७८० को जग्गा तथा उक्त जग्गामा रहेको घरभवन टहरासमेत बैंकले लिलाममा हालेको छ ।
यस्तै, मल्लकी श्रीमती राजकुमारी मल्लका नाममा मालपोत कार्यालय सुर्खेतमा दर्ता स्रेस्ता कायम भएको वीरेन्द्रनगर– ८ स्थित कित्ता नं. ३२२, ३४६१ र ३४६३ को जग्गा तथा उक्त जग्गाहरूमा निर्माण भएका घर भवन टहरासमेत बैंकले आफ्नो नाममा खिच्न लागेको छ । कम्पनीका अर्का सञ्चालक मङ्गल विश्वकर्माकी श्रीमती यात्राकुमारी नेपालीका नाममा मालपोत कार्यालय सुर्खेतमा दर्ता स्रेस्ता कायम साविक गुमी गाविस– ५ ख स्थित कित्ता नं. १२५ को जग्गा तथा उक्त जग्गामा निर्माण भएका घरभवन टहरा पनि लिलाममा परेका छन् ।
मालपोत कार्यालय दैलेखमा रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका नाममा दर्ता स्रेस्ता कायम भएको दैलेखको साविक पिलाडी गाविस– ६ स्थित कित्ता नं. १९३, साविक अवलपराजुल गाविस– ५ स्थित कित्ता नं. ८५७, ८५९, ८६१, ८६३ र ४२८, साविक पिडाली गाविस– ६ स्थित कित्ता नं. २९० को जग्गा तथा उक्त जग्गाहरूमा हाल निर्माणाधीन विद्युत्गृह, पावर हाउस, विद्युत् उत्पादन तथा विस्तारका लागि ऋणी कम्पनीका तर्फबाट तयार गरिएको गरिने सम्पूर्ण विद्युतीय सञ्जाल तथा उक्त विद्युत्गृहमा जडित विभिन्न यन्त्र, उपकरण, मेसिनरिज तथा अन्य घर, भवन, कार्यालय, पर्खाल तथा अन्य निर्माण कार्यहरूसमेत एभरेस्ट बैंकले लिलाम गर्न लागेको छ ।
प्रतिक्रिया