मोरङ । कोशी टप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएको गणनामा विगतको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको हो ।
कोश टप्पु वन्यजन्तु आरक्ष कार्यालयका अनुसार गत पुस २६देखि माघ १ गतेसम्म ‘मिडविन्टर वाटर वर्ड सेन्सस २०२५’ अन्तर्गत आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा ७६ प्रजातिका नौ हजार दुई सय ५० को चरा फेला परेका छन् । गत वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ चरा फेला परेका थिए । गणनाका क्रममा यस वर्ष सबैभन्दा धेरै चखेवा जातका चरा एक हजार ६८ र सबैभन्दा कम सेतोकण्ठे गरुड, पानीचाहा, चित्राङ्गद र फुस्रो टिकटिके चरा एउटा-एउटा मात्र फेला परेको आरक्षका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीले बताए ।
उनले असोजदेखि अन्यत्रबाट पर्यटक चरा पुससम्म आउने क्रम जारी रहन्छ र चैत लागेसँगै फर्कने बताए । सुनसरी, सप्तरी र उदयपुरको संगमस्थलमा रहेको कोश टप्पु वन्यजन्तु आरक्ष चराको राजधानी बनेको छ । करिब ५० प्रजातिका बटुवा चरा कोश टप्पु, चितवन राष्ट्रिय निकुञ्ज, बिस हजारी, जगदीशपुर, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी क्षेत्रमा रहने केन्द्र प्रमुख गौतमले बताए ।
प्रतिक्रिया