विश्व प्रदूषित शहरमा काठमाडौं दोस्रो नम्बरमा

विश्व प्रदूषित शहरमा काठमाडौं दोस्रो नम्बरमा


Vehicles plying the Ring Road at Kalanki, in Kathmandu, on Thursday, October 13, 2016. Vehicular traffic has increased with people returning to the Valley after celebrating Dashain. Photo: THT

काठमाडौं । काठमाडौं विश्वको दोस्रो प्रदूषित शहर बनेको छ । विश्वभरको मुख्य मुख्य क्षेत्रको वायु स्वच्छता मापन गर्दै आएको आईक्यू एअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौंको वायु प्रदूषण १९६ एक्यूआई छ ।

पाकिस्तानको कराची २१५ एक्यूआईसहित प्रदूषित शहरमध्ये पहिलो नम्बरमा छ ।

त्यस्तै नेपालमा भने पोखराको वायु प्रदूषण लगातार दोस्रो दिन पनि देशकै शीर्ष स्थानमा रहेको छ । बिहान साढे १० बजेसम्म पोखराको वायू प्रदूषण १९० एक्यूआईसहित रेड जोनमा छ ।

वातावरण विभागका अनुसार पोखरा पछि दोस्रो स्थानमा काठमाडौंको शंखपार्क दोस्रो र भरतपुर तेस्रो स्थानमा छ । दुवैको वायु दूषण १८२ एक्यूआई मापन गरिएको छ । त्यस्तै भक्तपुर (१६९), धनगढी (१६७), रत्नपार्क क्षेत्र (१६३), हेटौंडा (१५९) र खुमल्टार (१५९) एक्यूआई वायु प्रदूषण मापन गरिएको छ ।

बिहानैदेखि वायु प्रदूषण उच्च हुँदा जनजीवन प्रभावित हुन थालेको छ । ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ ।

वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांक मात्रै राम्रो मानिन्छ । ५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।

मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन वातावरण विभागले सूचनामार्फत जानकारी दिएको छ । ‘वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन अनुरोध छ’, विभागले सूचना जारी गर्दै भनेको छ ।