६ वटा संसदीय समितिको बैठक बस्दै

६ वटा संसदीय समितिको बैठक बस्दै


काठमाडौँ । ६ वटा संसदीय समितिको बैठक शुक्रबार बस्ने भएको छ । संघीय संसद् अन्तर्गत अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यक्रम छ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानको सम्बन्धमा प्राप्त सुझावहरूमाथि छलफल गर्ने कार्यसूची छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा स्वर्गद्वारी गुठी किसानका समस्याबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गुठी संस्थानसँग छलफल गनेछ । बैठक बिहान साढे ११ बजे बस्नेछ ।

मध्याह्न साढे १२ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन, २०८१ उपसमितिबाट समितिसमक्ष पेस गर्ने र छलफल गर्नेछ ।