निजामती सेवाको खुलातर्फ भित्रबाट हुने प्रतिस्पर्धा हटाउन प्रस्ताव

निजामती सेवाको खुलातर्फ भित्रबाट हुने प्रतिस्पर्धा हटाउन प्रस्ताव


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निजामती सेवाको खुला प्रतियोगितामा सेवाभित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा महामन्त्री थापाले यस्तो प्रस्ताव राखेका हुन् ।

‘निजामती सेवामा बाहिरबाट अनुभव बोकेका मान्छेहरू पनि आओस् जसले गर्दा निजामती सेवामा तल भर्‍याङ चढ्दै गरेकालाई पनि तहगत बढुवा पनि गछौँ, प्रतिस्पर्धाका लागि पनि खुला राख्छौँ र खुला प्रतियोगिता पनि गर्छौँ,’ महामन्त्री थापाले भने ।

महामन्त्री थापाले निजामती सेवामा खुला प्रतियोगिताका लागि १० प्रतिशत, अन्तरतहबाट २० प्रतिशत, आन्तरिक प्रतियोगिताबाट २० प्रतिशत र बढुवाद्वारा ५० प्रतिशत प्रस्ताव गरेका छन् ।

खुला प्रतियोगिताको १० प्रतिशतमा पनि ४० प्रतिशत फ्रेस र ६० प्रतिशत गैर निजामती सेवा, गैरसरकारी सेवामा रहेकाहरूका लागि उनको प्रस्ताव छ ।