तीन बन्धकको नाम सार्वजनिक गर्ने तयारीमा हमास, विपिन पनि पर्ने अपेक्षा

तीन बन्धकको नाम सार्वजनिक गर्ने तयारीमा हमास, विपिन पनि पर्ने अपेक्षा


काठमाडौं । इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीपछि हमासले शुक्रबार तीन जना बन्धकको नाम सार्वजनिक गर्ने अपेक्षा गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्यालेस्टिनी लडाकू समूह हमासले यस हप्ताको अन्त्यमा तीन जीवित बन्धकहरूलाई रिहा गर्ने वा गाजामा पुनः युद्ध सुरु गर्नेमध्ये एक विकल्प रोज्नुपर्ने इजरायली चेतावनीपछि हमासले थप तीन बन्धकको रिहाइका लागि सहमति जनाएको हो। यसअघि, हमासले युद्धविरामको स्पष्ट उल्लंघन भएको भन्दै रिहाई रोक्ने बताएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्र अमेरिकाले कब्जा गर्ने प्रस्ताव गरेपछि गाजामा १५ महिनादेखि जारी युद्ध अन्त्यका लागि जनवरी १९ मा भएको युद्धविराम सम्झौता पालनाका लागि प्यालेस्टिनी समूहलाई चर्को दबाब परेको छ ।

इजरायली सञ्चारमाध्यमका अनुसार युद्धविराम र ‘निर्धारित समय तालिकाअनुसार’ अर्को आदानप्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै शनिबार रिहा हुने तीन बन्धकको नाम सार्वजनिक गर्ने तयारी हमासले गरेको हो । हमासका प्रवक्ता अब्देल लतिफ अल–कानौले भने, ‘हामी यसलाई (युद्धविराम) कार्यान्वयन गर्न इच्छुक छौं र यसलाई पूर्ण रूपमा पालना गर्न कब्जामा रहेका बन्धकको सहारा लिन बाध्य छौं ।’

हमासले शनिबार ‘तीन जना जीवित बन्धक’ लाई रिहा गर्न इजरायलले दवाब दिएको हो । सरकारका प्रवक्ता डेभिड मेन्सरले भने, ‘यदि हमासले हाम्रा कम्तीमा तीन बन्धकहरूलाई शनिबारअघि फिर्ता गर्ने प्रक्रिया अघि बढाएन भने शनिबार मध्याह्नसम्म युद्धविराम अन्त्य हुनेछ ।’ हमासले यसअघि इजरायलले युद्धको भग्नावशेष हटाउन आवश्यक पर्ने भारी मेशिनरीको आपूर्ति रोकेको आरोप लगाएको थियो भने गाजासँग जोडिएको इजिप्टको राफा सीमा क्षेत्रमा ‘बुलडोजर ’को लाइन लागेको थियो ।

हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीका बारेमा भने हमासले केही खुलाएको छैन । युद्धबिरामको शर्तमै बन्धक बनाइएकाहरु सबैलाई मुक्त गर्ने भनिए पनि विपिन अहिले नै रिहा हुने कुनै अवस्था देखिएको छैन । हमास र इजरायलबीच जनवरी १९ देखि युद्धविराम छ । अहिलेसम्म हमासले पाँच खेप गरेर २१ बन्धक मुक्त गरेको छ भने बदलामा यसबीच इजरायलले ५६६ प्यालेस्टिनी कैदी रिहा गरेको छ । तर हालसम्म रिहा हुनेमा नपरेका नेपाली विद्यार्थी विपिन जोशी यस पटक पनि पर्लान् वा नपर्लान्, भन्न गाह्रो छ। तर आशा भने जागेको छ । विपिन जोशी रिहा नहुँदा उनको परिवार पीडामा छ ।