प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा : न्यायाधीशद्वय सुवेदी र पाण्डेयको इजलासमा

प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा : न्यायाधीशद्वय सुवेदी र पाण्डेयको इजलासमा


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अदालतको अवहेलनासम्बन्धी रिटमा आज पेसी तोकिएको छ ।

न्यायाधीशद्वय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो । अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धु टी–स्टेट्स सम्बन्धी फैसला कार्यान्वयन नगरेर अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए ।

गिरीबन्धुको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको र फैसला कार्यान्वयनमा उल्टै अवरोध भएको अधिवक्ता अर्यालले निवेदनमा दाबी गरेका छन् ।

२४ माघ २०८० मा सर्वोच्च अदालतको संवैधानिक इजलासले गिरीबन्धु टी–स्टेस्ट सम्बन्धी मुद्दाको फैसला गरेको थियो । सर्वोच्च अदालतले जग्गासँग सम्बन्धित तीन वटा आदेश जारी गरेको थियो । सर्वोच्चले त्यतिबेला हदबन्दी छुटमा दिइएको जग्गाको उपयोगको अवस्था पत्ता लगाउनु भनेको थियो भने खाली राखिएको अवस्थाको जग्गा पहिचान गर्न आदेश जारी गरेको थियो ।

यस्तै, प्रयोग नभएको वा अन्य प्रयोजनमा उपयोग भएको जग्गा तत्काल सरकारको नाममा ल्याउन आदेश गरेको थियो । यस्तै, हदबन्दीभन्दा बढी देखिएको र चिया उद्योगको नाममा उपयोग नभएको गिरीबन्धुको जग्गा सरकारको नाममा ल्याउनु भनी आदेश दिएको थियो ।