रूसविरूद्ध लडाईंमा सहयोगको बदलामा ट्रम्पले मागे युक्रेनको आधा खनिज, जेलेन्स्कीले गरे अस्वीका

रूसविरूद्ध लडाईंमा सहयोगको बदलामा ट्रम्पले मागे युक्रेनको आधा खनिज, जेलेन्स्कीले गरे अस्वीका


काठमाडौं – अमेरिकाले युक्रेनसँग रूसविरूद्ध लड्न अहिलेसम्म गरेको सहयोगको बदलामा त्यहाँको आधा खनिज स्रोतको स्वामित्व मागेको छ।

ट्रम्प प्रशासनका वित्तमन्त्री स्कट बेसेन्टले बुधबार युक्रेनका राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीसँग किएभमा भेटवार्ता गरेका थिए।

ट्रम्प प्रशासन तर्फबाट पहिलो युक्रेन भ्रमण गरेका वित्तमन्त्री बेसेन्टले जेलेन्स्कीसँग रूसविरूद्धको लडाईंमा अहिलेसम्म अमेरिकाले गरेको सहयोग र आगामी दिनहरूमा पनि सहायता जारी राख्नका लागि आधा खनिजमा स्वामित्व दिनुपर्ने सर्त राखेका थिए।

उक्त सर्तलाई जेलेन्स्कीले अस्वीकार गरिदिएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी अखबार द न्युयोर्क टाइम्सले लेखेको छ।

अमेरिकी सहयोगको क्षतिपूर्तिको रूपमा ग्रेफाइट, लिथियम र युरेनियमसहित युक्रेनको सबै खनिज स्रोतहरूमा ५० प्रतिशत स्वामित्व प्रदान गर्ने सर्त थियो।

एक अधिकारीकाअनुसार, प्रस्ताव हेरेपछि जेलेन्स्कीले त्यसमा भएको विवरणको समीक्षा गर्ने र युक्रेनले अर्को प्रस्ताव प्रदान गर्ने भनेका थिए। उक्त प्रस्ताव जेलेन्स्कीले म्युनिख सुरक्षा सम्मेलनमा सहभागी हुँदा आदान-प्रदान गर्ने भनिएको थियो।
शुक्रबार म्युनिख सुरक्षा सम्मेलनमा जेलेन्स्की र अमेरिकी उपराष्ट्रपति जेडी भान्सबीच भेटवार्ता भएको थियो। तर उक्त भेटमा खनिज पदार्थबारेको  प्रस्ताव आदान प्रदान भयो कि भएन भन्ने सार्वजनिक नभएको न्युयोर्क टाइम्सले लेखेको छ।

शनिबार म्युनिखमा पत्रकारहरूसँग बोल्दै जेलेन्स्कीले ट्रम्प प्रशासनको उक्त प्रस्ताव अस्वीकार गरेको बताएका थिए। प्रस्तावमा के थियो भनेर नखुलाएपनि वाशिंटनले सुरक्षाको ज्ञारेन्टी नगरेको उनले बताएका थिए।

‘त्यसमा किएभको सुरक्षा ज्ञारेन्टी गरिएको छैन,’ उनले म्युनिखमा पत्रकारहरूसँग भने।

युक्रेनी अधिकारीहरूले अमेरिकी प्रस्तावको ब्रिफिङमा खनिज पदार्थमा मात्रै नभई अरू प्राकृतिक स्रोत, तेल र ग्यासमा पनि स्वामित्व खोजिएको बताएका छन्। ती अधिकारीले युक्रेनबाट अन्य मुलुकमा हुने निकासीबाट हुने आम्‍दानीको आधा हिस्सासमेत अमेरिकाले मागेको बताएका थिए।

रूससँगको युद्धपछि युक्रेनले प्राकृतिक स्रोतबाट हुने पूरै आम्दानी देशको सुरक्षामा खर्च गरिरहेको छ। अमेरिकाको प्रस्ताव स्विकार गर्दा सुरक्षामा युक्रेनले गर्दै आएको खर्च घट्ने छ।

प्रस्ताव अस्वीकार गरे अमेरिकाले युक्रेनलाई रूससँगको युद्धमा गर्दै आएको सैन्य र आर्थिक सहायता रोकिन सक्ने चुनौती पनि रहेको बताइएको छ। युरोपेली मुलुकहरूले ह्वाइट हाउसको उक्त प्रस्तावबारे आपत्ति जनाएका छन्।

किभ स्कुल अफ इकोनोमिक्सले संकलन गरेको सूचीअनुसार, तेल र प्राकृतिक ग्यास क्षेत्रहरूबाहेक युक्रेनमा टाइटेनियम, लिथियम र युरेनियमसहित १०९ वटा महत्त्वपूर्ण खनिज भण्डारहरू छन्।

४ फेब्रुअरीमा ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्प आफैले पनि युक्रेनलाई भविष्यमा सहयोग जारी राख्न त्यस्ता खनिज पदार्थहरुमा पहुँच दिनुपर्ने बताएका थिए।

‘हामी युक्रेनसँग सम्झौता गर्ने प्रयासमा छौं। उसले त्यहाँ रहेका दुर्लभ खनिजहरूमा स्वामित्व दिएर अमेरिकी सहायता जारी रहने परिस्थितलाई सुरक्षित गर्नेछ,’ ट्रम्पले भनेका थिए।

ट्रम्पले युक्रेनमा भएका ती दुर्लभ खनिजहरूको सुरक्षा महत्त्वपूर्ण हुने बताएका थिए।

‘उनीहरूसँग महत्त्वपूर्ण र दुर्लभ खनिज छ। हामी त्यसको सुरक्षा चाहन्छौं र युक्रेन त्यसका लागि तयार हुनेछ,’ ट्रम्पले भनेका थिए।

आधुनिक प्रविधि विकासका लागि चाहिने ती दुर्लभ खनिज पदार्थ अमेरिकालाई अहिले प्राय: चीनले आपूर्ति गर्छ।

अमेरिकासँगको बढ्दो प्रतिस्पर्धाका कारण चीन र रूसले यी दुर्लभ पदार्थको निर्यातमा रोक लगाए भने अमेरिका लगायत पश्चिमा मुलुकलाई मुस्किल पर्न सक्छ।

यसले आधुनिक हतियारदेखि आर्टिफिसियल इन्टेलिजेन्स लगायत प्रविधि र सर्वसाधारणले प्रयोग गर्ने उपभोग्य वस्तु उत्पादनमा समेत प्रभाव पर्न सक्छ। त्यस्तो सम्भावनाबारे अवगत रहेका ट्रम्पले युक्रेनसँग त्यस्तो सम्झौताको प्रयास गरेका हुन्।