काठमाडौँ। बारा जिल्लाको कलैया उपमहानगरपालिका–१ मा सञ्चालित नव जन्म सुधार केन्द्रमा एक युवाको अमानवीय कुटपिटका कारण ज्यान गएको घटनाले संसदमा गम्भीर बहस निम्त्याएको छ।
प्रतिनिधि सभामा सांसद अच्युत प्रसाद मैनालीले फागुन २ गते राति २ बजे सुधार केन्द्रमा रहेका धिरेन्द्र उर्फ प्रदीप प्रसाद मण्डललाई निर्घात कुटपिट गरी हत्या गरिएको घटनाप्रति कडा आपत्ति जनाउँदै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेका छन्।
सांसद मैनालीले लागू औषध प्रयोगकर्ताहरूको उपचार तथा पुनःस्थापना सञ्चालन निर्देशिका २०७५ अनुसार नेपाल सरकार, तीनै तहका सरकार, गैरनाफामूलक संस्थाहरू र प्रचलित कानुनअनुसार व्यवसायिक रूपमा दर्ता भएका पुनःस्थापना केन्द्रहरूको व्यवस्थापनमा कमजोरी रहेको औंल्याए। उनले सुधार गृह तथा पुनःस्थापना केन्द्रहरूको हालको अवस्था, सञ्चालन प्रक्रिया, नियमित गतिविधि तथा नियामक निकायबाट हुने अनुगमन प्रभावकारी बनाउन आवश्यक रहेको धारणा राखे।
“जिल्ला सदरमुकाम जस्तो संवेदनशील स्थानमा यस्ता घटना दोहोरिनु अत्यन्त गम्भीर विषय हो। यसले समग्र सुधार केन्द्रहरूको विश्वसनीयतामा गम्भीर प्रश्न खडा गरेको छ,” उनले भने। साथै, उनले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदै आगामी दिनमा यस्ता घटनाहरू दोहोरिन नदिने प्रतिबद्धता जनाउन सरकारसँग माग गरे।
प्रतिक्रिया