पेट्रोल र मट्टितेल पनि भारतबाट पाइपलाइनमा आयो, बितरण थालियो

पेट्रोल र मट्टितेल पनि भारतबाट पाइपलाइनमा आयो, बितरण थालियो


काठमाडौं– भारतबाट पेट्रोल र मट्टितेल पनि पाइपलाइनमा नेपाल आउन थालेपछि वितरण सुरु गरिएको छ।

बहुप्रतिक्षित परियोजनाको रुपमा रहेको नेपाल–भारत अन्तरदेशीय मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन पूर्ण सञ्चालनमा आएको हो।

दुई चरणमा सम्पन्न्न परियोजनाको दोस्रो चरणअन्तर्गत भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्ज डिपोमा पाइपलाइनबाट पेट्रोल र मट्टितेल आउन थालेको हो।

२०७६ भदौ २४ गते पहिलो चरणमा डिजल आयात गरिएको उक्त पाइपलाइनमार्फत प्रति घण्टा ३ सय किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्न सकिन्छ।

परियोजनाले अमलेखगञ्ज डिपोमा पूर्ण अटोमेसन लोडिङ गर्न २४ वटा लोडिङ वे मा ३६ वटा फिलिङ पोइन्ट बनाइएकोे छ।

प्रादेशिक डिपो अमलेखगञ्जका प्रमुख प्रलंयकर आचार्यले दोस्रो चरणको काम सम्पन्न भएसँगै पाइपलाइनबाट आयातित पेट्रोल नेपालको प्रमुख शहरका डिपोमा औपचारिक रुपमा वितरण थालिएको बताए।

योसँगै टयांकरमार्फत हुने ८० प्रतिशत पेट्रोलियम पदार्थहरुको ढुबानी तथा प्राविधिक नोक्सानी अन्त्य भएको छ।