सडक दुर्घटनामा परेर ६ महिनामा एक हजार २३३ जनाको निधन

सडक दुर्घटनामा परेर ६ महिनामा एक हजार २३३ जनाको निधन


चालू आर्थिक वर्षको ६ महिनामा सडक दुर्घटनामा परेर एक हजार २३३ जनाको निधन भएको छ । लापरबाहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको संख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो ।

गृह मन्त्रालयका अनुसार ०८० को पुस मसान्तसम्म देशभर १२ हजार ८५६ सडक दुर्घटनामा एक हजार १४९ जनाको ज्यान गएको थियो । यस वर्षको पुस मसान्तसम्म ११ हजार ३३८ सडक दुर्घटना हुँदा एक हजार २३३ जनाको ज्यान गएको छ ।

गत वर्षको ६ महिनाको तुलनामा यस वर्षको ६ महिनामा सडक दुर्घटनाको संख्या घटे पनि मृत्यु हुनेको संख्यामा वृद्धि भएको छ । गत मंसिरको तुलनामा पुसमा सडक दुर्घटना बढे पनि मृत्यु हुनेको संख्या घटेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।

मन्त्रालयका अनुसार गत साउनमा एक हजार ६२८ सडक दुर्घटनामा १५२, भदौमा एक हजार ६१९ दुर्घटनामा १७४ जनाको अकालमा ज्यान गएको थियो । गत असोजमा एक हजार ८७३ सडक दुर्घटनामा दुई सय, कात्तिकमा एक हजार ९२८ दुर्घटनामा परी २५८ जनाको निधन भएको विवरण छ । अघिल्लो गत मंसिरमा दुई हजार १४ सडक दुर्घटनामा परी २५२ र पुसमा सबैभन्दा बढी दुई हजार २७६ दुर्घटनामा परेर १९७ जनाको निधन भएको छ ।

मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार गण्डकी, काठमाडौं उपत्यका र कर्णालीमा दुर्घटनाको संख्या घटे पनि मृत्यु हुनेको संख्यामा बढोत्तरी भएको छ । मधेश प्रदेश र बागमती (काठमाडौं उपत्यका)बाहेकमा दुर्घटनाको संख्या बढे पनि मृत्यु हुनेको संख्या घटेको छ ।

भयावह आत्महत्या

मन्त्रालयका अनुसार चालू आवको ६ महिनामा तीन हजार १३४ जनाले आत्महत्या गरेका छन् । गत वर्षको सोही अवधिमा तीन हजार ४५७ जनाले अकालमा ज्यान फालेका थिए । गत वर्षको ६ महिनाको तुलनामा आत्महत्याको कुल संख्या घटेको छ ।

यस्तै, गत मंसिरको तुलनामा र पुसमा आत्महत्याको संख्या घटेको छ । यस वर्षको कात्तिकमा सबैभन्दा बढी ६२८, मंसिरमा ४७१ र पुसमा ४२५ जनाले आत्महत्या गरी ज्यान फालेका गृह मन्त्रालयले जनाएको छ ।

साइबर अपराध

मन्त्रालयका अनुसार चालू आवको ६ महिनामा १० हजार ७७६ वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर अपराध गर्नेहरूले सबैभन्दा बढी टेलिग्राम प्रयोग गरेको पाइएको छ । कुल एक हजार १८७ वटा निवेदन टेलिग्रामसँग जोडिएको दर्ता भएका छन् ।

यस्तै, फेसबुक प्रयोग गरेर एक हजार ९८, इन्स्टाग्राम प्रयोग भएका ७३१ र टिकटकसँग जोडिएका १५३ वटा निवेदन दर्ता भएका छन् । आव ०८०/८१ मा कुल १९ हजार ७३०, आव ०७९/८० मा नौ हजार १३ वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका मन्त्रालयले जनाएको छ ।