बालेनले भने-स्कुल बाहेकका गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाउनुपर्छ

बालेनले भने-स्कुल बाहेकका गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाउनुपर्छ


काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताएका छन् । बुधवार काठमाडौँ महानगरपालिका-७ ले आयोजना गरेको पीएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विद्यार्थीको धेरै समय विद्यालयमा बित्ने उल्लेख गर्दै यसबाहेकका सृजनात्मक कार्यक्रममा समेत सहभागिता बढाउनुपर्ने उनको भनाइ थियो ।

‘विद्यार्थीको धेरै समय स्कुलमा बितिरहेको हुन्छ । पढाइबाहेक अन्य क्रियाकलापमा पनि हामीले बढाउँदै जानुपर्छ । त्यसको लागि पेन्टिङ र आर्टहरू पनि एउटा माध्यम हो । हामी सृजनशील भयौँ भने नकारात्मक कुराहरूप्रति आकर्षित हुने कुरालाई रोक्छ,’ मेयर शाहले भने, ‘पेन्टिङमा काम गर्न सकियो भने अरु क्रियाकलापमा समेत सृजनात्मकता बढ्दै जान्छ । सबै मान्छे क्रिएटिभ हुन्छ त र विण्डो चाहिँ बन्द भएर बसिराखेको हुन्छ । पेटिङ, म्युजिक र पोइट्रीले सिर्जनालाई खोल्ने प्रयास गर्दै जान्छ ।’

मेयर शाहले महानगरका प्रथम मेयर प्रेमलाल सिंहबारे विद्यार्थीहरूलाई सिकाउन जरुरी रहेको समेत बताए ।

‘काठमाडौँ महानगरपालिकाका प्रथम मेयर प्रेमलाल (पीएल) सिंहज्यू एकदमै भिजनरी हुनुहुन्थ्यो । उहाँको भिजनमा काठमाडौँले विकासको बाटो देखेको थियो । उहाँको नाममा आयोजित यो कार्यक्रममा आउन पाउँदा झनै खुसी लागेको छ,’ मेयर शाहले भने, ‘उहाँको बारेमा स्कुलका नानीबाबुहरूलाई पनि सिकाउन पाइयो भने भोलिको दिनमा उहाँहरूलाई पनि एउटा प्रेरणा हुन्छ । लिडरसिपको प्रेरणा पनि चाहिन्छ । यो ठाउँमा चाहिँ आज पहिलो पटक कार्यक्रम गरिएको हो ।’