उपप्रधानमन्त्री सिंहले भने-अबको कार्यभार राजनीति स्थिरताको जगमा आर्थिक क्रान्ति हो

उपप्रधानमन्त्री सिंहले भने-अबको कार्यभार राजनीति स्थिरताको जगमा आर्थिक क्रान्ति हो


CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

बर्दिया । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अबको कार्यभार राजनीतिक स्थिरताको जगमा आर्थिक क्रान्ति गर्नु रहेको बताएका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा नेपाली काँग्रेस बर्दिया जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै यसैलाई समृद्धि बनाउन लाग्नुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री सिंहले ०७ सालको क्रान्ति काँग्रेसले गरेको चर्चा गर्दै ०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान पनि काँग्रेसकै नेतृत्वमै जारी भएको भन्दै अबको कार्यभार संविधानलाई संस्थागत गर्दै जनताको जीवन र जीविकोपार्जन सहज बनाउनु रहेको बताए ।

‘प्राप्त गरेको राजनीतिक अधिकारलाई सुरक्षित राखेर राजनीतिक स्थिरताको जगमा अब आर्थिक क्रान्ति गर्ने हो’, उपप्रधानमन्त्री सिंहले भने । अहिलेको व्यवस्था लामो संघर्ष र बलिदानबाट प्राप्त भएको भन्दै अधिकारसँगै सबैले आआफ्नो जिम्मेवारी पूरा गरेर बलियो बनाउनुपर्नेमा पनि सिंहले जोड दिए ।

अग्रज नेताहरूले आफ्नो समयमा जेलजिवन, यातना, निरवासन र सहिद भएर दिएको अधिकार सुरक्षित गर्ने दायित्व अहिलेको नेतृत्वको काँधमा रहेको भन्दै उनले त्यसका लागि नेपाली काँग्रेसलाई व्यवस्थित बनाउनुपर्ने धारणा राखे ।

नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले आन्तरिक रूपमा लोकतन्त्रको अभ्यास गर्दा अग्रजहरूले सिकाएको राजनीतिक संस्कार आत्मसात गर्नुपर्ने सिंहको भनाई थियो । उनले पार्टी संगठनलाई सुदृढ बनाउनका लागि लाग्न पनि नेता कार्यकर्तालाई आग्रह गरे ।

‘तत्कालीन समयमा काँग्रेसले के गर्न सक्छ ? भन्थे । ०१७ सालमा गुमेको अधिकार लौहपुरूष गणेशमान सिंहको नेतृत्वमा भएको आन्दोलनपछि पुनः स्थापित भयो । जतिजति बेला राष्ट्र संकटमा पर्छ काँग्रेसले नै नेतृत्वदायी भूमिका खेलेको छ’, सिंहले भने ।

नेपाली काँग्रेसका पूर्वमहामन्त्रीसमेत रहनुभएका सिंहले ०७ सालको क्रान्तिपछि प्रजातन्त्र स्थापनासँगै नेपालमा शिक्षाको लहर आएको बताए । देशको विकास र समृद्धिका लागि शिक्षा अनिवार्य रहेको महसुस गर्दै काँग्रेस नेतृत्वमा बनेको सरकारले गाउँ गाउँमा विद्यालय पुर्‍याएको स्मरण गरे ।

प्रजातन्त्र स्थापनापछि देशभर धेरै विद्यालय स्थापना भएको र त्यसले समाजका हरेक क्षेत्रमा ठुलो परिवर्तन ल्याएको बताए ।

उपप्रधानमन्त्री सिंहले प्रजातन्त्र स्थापनाका लागि योगदान गर्ने बलिदान हुनेहरूप्रति उच्च सम्मान व्यक्त गर्दै उनीहरूले देखेको सपना पूरा गर्न सबै लाग्नुपर्ने बताए ।