शंकर पोखरेलले प्रष्टीकरण : दुई दलीय व्यवस्थाको वकालत गरेको छैन

शंकर पोखरेलले प्रष्टीकरण : दुई दलीय व्यवस्थाको वकालत गरेको छैन


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले कहिले पनि दुई दलीय व्यवस्थाको वकालत नगरेको बताएका छन् ।

पछिल्ला केही महिनादेखि सार्वजनिक कार्यक्रमहरूमा उनले साना साना दलका कारण सरकार अस्थिर बन्न पुगेको दाबी गर्दै आएका थिए ।

एमालेको वडा केन्द्रित अभियान शुभारम्भ गर्न बुधबार कपिलवस्तु पुगेका महासचिव पोखरेलले आफूले दल खोल्दै प्रतिबन्ध लगाउनुपर्ने कुरा नगरेको बताए ।

‘मैले बलिया दुई राजनीतिक दलको वकालत गर्दा दल खोल्न प्रतिबन्ध लगाउन खोजेको आरोप खेप्नुपर्‍यो,’ उनले भने, ‘म दल खोल्न निषेधको पक्षमा कहिल्यै थिइनँ । मैले बलिया दुई राजनीतिक दल भए मात्रै अस्थिर राजनीतिको अन्त्य हुन्छ र स्थायी सरकार बनाउन सकिन्छ भन्ने धारणा राखेको हुँ ।’

उनले थ्रेसहोल्डको प्रतिशत बढाउनु पर्ने धारणा दोहोर्‍याए । ‘जनताको बिचमा गएर चुनाव जितेर आउनेलाई सत्ता चलाउन कसैले बन्देज लगाउन सक्दैन । अब राजनीतिक खुद्रा पसल भने आवश्यक छैन,’ महासचिव पोखरेलले भने ।