सात करोडको लगानीमा बनेको भवन प्रयोगविहीन

सात करोडको लगानीमा बनेको भवन प्रयोगविहीन


नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐२ स्थित शहरी विकास तथा भवन निर्माण विभाग चितवनले सात करोडमा निर्माण गरेको भवन प्रयोगविहीन भएको छ।

रामग्राम नगरपालिका झरही खोला नजिकै रहेको हाटबजारमा निर्माण गरिएको भवनको माथिको सटर भाडाको लागि ८० हजार जम्मा गरे पनि रामग्राम नगरपालिकाले भाडामा नदिएको रामग्राम निवासी गिरजाशङ्कर रौनियारले बताए।

उनले भने, ‘सटर भाडाको लागि नगरपालिकामा निवेदन दिएँ। नगरपालिकाले भाडामा नदिएको भाडामा बस्न नगरपालिकाका प्रमुखसँग आग्रह गरे पनि सटर भाडामा नदिएपछि आफूले जम्मा गरेको रकम एक महिना पछि फिर्ता लिएँ।’

चितवनबाट सञ्चालित निर्माण कम्पनीले हाटबजारको भवनको भौतिक पूर्वाधार निर्माण सम्पन्न गरेको चार वर्षभन्दा बढी भएको बताइएको छ। भाडामा नदिँदा निर्माणाधीन भवन प्रयोग विहीन भएको उनको भनाइ छ। वर्षातका समयमा हाटबजार लगाउन आउने व्यापारीलाई वर्षात् र घामबाट सुरक्षित तथा बजार व्यवस्थितको शहरी विकास तथा भवन निर्माण विभाग चितवनले भवन निर्माण गरेको हो।

विभागले सात करोड लागतमा १०० भन्दा बढी सटर निर्माण गरेको सव इन्जिनियर वीरेन्द्र मण्डलले बताए। उनका अनुसार शौचालय, सेनेटरी र वाइरिङको काम गर्न बाँकी रहेकोले प्रयोग विहीनमा छ। विभागले निर्माण गरेको कोठा भाडामा दिनका लागि रामग्राम नगरपालिकाले चार पटक सूचना प्रकाश गरे पनि भाडामा लिने व्यक्ति अहिलेसम्म सम्पर्कमा नआएको नगर प्रमुख धनपत यादवले बताए।