काठमाडौं । नेपाल बार एसोसिएसनको कार्यसमितिका लागि चुनावी सरगर्मी बढेको छ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको चैत २३ गते हुने कार्यसमिति निर्वाचनका लागि सरगर्मी बढेको हो । प्रत्येक ३ वर्षमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा विभिन्न दलनिकट कानुन व्यवसायीहरूको संगठनको आन्तरिक तयारीले तीव्रता पाएको छ । त्यसो त वर्तमान कार्यसमिति बैठकले वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाको अध्यक्षतामा ५ सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ । समितिमा ताराबहादुर सिटौला, चन्द्रबहादुर शाही, तेजनाथ धमला र सेमन्त निरौला सदस्य छन् । नेपाल बारको २५ सदस्यीय कार्यसमितिका लागि देशभरका कानुन व्यवसायीले प्रत्यक्ष मतदान गर्ने चुनावबाट २७ औँ कार्यसमिति चयन गर्नेछन् ।
नेपाली कांग्रेस र नेकपा एमालेनिकट संगठनहरू नेतृत्वका मुख्य दाबेदार छन् । यसपालि सरकारमा यी दुवै दलको गठबन्धन भएकाले बारमा कस्तो समीकरण बन्छ भन्ने स्पष्ट भइसकेको छैन ।
वामपन्थी एक ठाउँमा
अर्को महिना हुने निर्वाचनका लागि वामपन्थी पार्टी आबद्ध वकिलहरू एक ठाउँमा उभिएका छन् । हालै सम्पन्न बार काउन्सिल निर्वाचनमा मिलेर लडेका एमालेनिकट पिपिएलए र माओवादीनिकट आरपीएलएसहित अन्य समूहसमेत बार निर्वाचनमा मिलेर जाने भएका छन् ।
बिहीबार नेपाल बारका पूर्वअध्यक्ष शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, सय वर्ष उमेर टेक्न लागेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, पूर्वपदाधिकारी सतिशकृष्ण खरेलसहितले आयोजना गरेको बार निर्वाचन केन्द्रित भेलामा अध्यक्ष पदका आकांक्षीहरूले आफ्नो उम्मेदवारीसमेत पेस गरेका थिए । सो भेलामा बार अध्यक्षका लागि पूर्वउपाध्यक्ष टीकाराम भट्टराई, पूर्वमहासचिव रमणकुमार श्रेष्ठ, ईश्वरी भट्टराई, महेश नेपाललगायतले अध्यक्ष पदमा आफ्नो दाबी रहेको बताएका थिए । यीमध्ये श्रेष्ठ माओवादीनिकट हुन् भने अन्य दाबेदार एमालेनिकट पिपिएलएमा आबद्ध छन् ।
भेलामा कांग्रेसनिकट डिएलएबाहेक सबै दल आबद्ध र स्वतन्त्र वकिलहरूको सहभागिता थियो । यो निर्वाचनमा सबै मिलेर विगतको गल्ती सच्याउनुपर्ने भेलामो निष्कर्ष रहेको शम्भु थापाले बताए । थापाले भेलामा अघिल्लो निर्वाचनमा गठबन्धन गरेर कांग्रेसलाई अध्यक्ष जिताएकोमा पश्चात्तापसमेत व्यक्त गर्दै अब उक्त गल्ती नगर्ने बताएका थिए । यसपटक वामपन्थीहरू मिलेर बार जित्नुपर्नेमा कसैको विमति नरहेको भेलाका सहभागीले बताए । सो भेलामा रास्वपा समर्थित स्वतन्त्र कानुन व्यवसायी संगठनका अध्यक्ष यज्ञमणि न्यौपानेले समेत ऐक्यबद्धता जनाएका थिए ।
वाम गठबन्धनबाट एमालेले अध्यक्ष र माओवादीले महासचिव लिएर जाने सम्भावना रहेको बताइएको छ । बाँकी पदमा रास्वपा, नेकपा एस, मधेशवादीलगायत सबैलाई समेट्ने तयारी छ । नेकपा एसको एसपिएलएका अध्यक्ष डेकेन्द्र सुवेदीबाहेक एउटा पक्ष भने कांग्रेससँग मिलेर जाने पक्षमा छ । यसबीचमा भएका उच्च बार पाटन, सर्वोच्च बार, बार काउन्सिललगायत निर्वाचनमा कांग्रेस र नेकपा एसबीच तालमेल हुँदै आएको छ भने एमाले र माओवादी मिलेर लडेका छन् ।
हालै सर्वोच्च अदालत बार एसोसिएसनमा कांग्रेस र एमालेनिकट संगठन आमनेसामने भएका थिए । कांग्रेसनिकट संगठन डेमोक्रेटिक लयर्स एसोसिएसनका उम्मेदवार मेघराज पोखरेल अध्यक्षमा निर्वाचित भएका थिए । नेकपा एकीकृत समाजवादीनिकट संगठनको पनि उनलाई साथ थियो । तर, यसअघि सम्पन्न भएको नेपाल बार काउन्सिलको चुनावमा सबैभन्दा धेरै मतदाता रहेको बागमतीबाट एमाले माओवादी गठबन्धनले जितेपछि उनीहरू बारको निर्वाचनका लागि मिलेर जान थप उत्साहित भएका छन् ।
डेमोक्रेट्स कसरी जानेमा छैन स्पष्टता
माओवादी र एमाले मिलेर जाने भए पनि नेपाली कांग्रेसनिकट डेमोक्रेट लयर्स एसोसिएसन (डिएलए)ले कसरी तयारी गर्छ भन्ने कुरा अझै स्पष्ट भएको छैन । डिएलएको तर्फबाट अध्यक्ष पदको उम्मेदवार को हुने र कोसँग मिलेर जाने भन्ने अझै स्पष्ट भएको छैन ।
अघिल्लो निर्वाचनमा एमालेबाहेक अन्य दलको गठबन्धन बनेको थियो । जसलाई शम्भु थापा लगायतले समर्थन जनाएका थिए । २०७८ चैतमा भएको बारको चुनावमा नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो । उक्त गठबन्धनबाट हालका अध्यक्ष गोपालकृष्ण घिमिरेको प्यानलै विजयी भएको थियो । उहाँले ४ हजार ४७४ मत ल्याउँदा नेकपा एमालेनिकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका उम्मेदवार विष्णुमणि अधिकारी २ हजार ४८२ मतले पारजित हुनुभएको थियो ।
प्रतिक्रिया