काठमाडौ -सशस्त्र प्रहरी बलकी प्रहरी निरीक्षक(इन्सपेक्टर) सन्तोषी महतलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा सशस्त्र प्रहरीकै इन्सपेक्टर विवेक जोशी पक्राउ परेका छन्। सोमबार पक्राउ पूर्जी जारी भएसँगै सशस्त्र प्रहरीले उनलाई कास्की प्रहरीको जिम्मा लगाएको हो ।
कास्की प्रहरीका प्रवक्ता डिएसपी बसन्त शर्माले इन्सपेक्टर जोशीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बताए । इन्सपेक्टर जोशी मनकामना गण तनहुँमा दरबन्दी भई कास्कीमा कार्यरत थिए ।
सन्तोषीका परिवारले विवेकविरुद्ध किटानी जाहेरी दिएका थिए। उनकै यातनाका कारण सन्तोषी आत्महत्या गर्न बाध्य भएको परिवारको दाबी छ।
पोखराको लामापाटनस्थित सशस्त्र प्रहरीको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयअन्तर्गत तालिम केन्द्रको महिला शौचालयमा झुन्डिएको अवस्थामा महतको शव शनिबार बेलुका फेला परेको थियो।
सिन्धुपाल्चोक घर भएकी महत १७औँ बेसिककी इन्सपेक्टर हुन् । उनी आधारभुत तालिम गर्दै थिइन् । पक्राउ परेका जोशी १६औँ बेसिकका हुन् ।
०७२ सालमा जवानमा भर्ना भएकी महतले ०७८ सालमा असइमा र ०८१ मा निरीक्षकमा नाम निकालेकी थिइन् । उनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । आमा–बुबा अष्ट्रेलियाबाट आएपछि मात्र उनको दाहसंस्कार गर्ने परिवारको तयारी छ ।
प्रतिक्रिया