नवलपरासी पश्चिम झडप अपडेट : प्रहरीको गाडी समेत जलाइयो

नवलपरासी पश्चिम झडप अपडेट : प्रहरीको गाडी समेत जलाइयो


काठमाडौँ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाँउपालिका–३ बेलासपुरमा दुई समुदायबीच भएको झडपका क्रममा स्थानीयले प्रहरीको गाडी समेत जलाई दिएका छन् । झडपमा २० बढी घाइते भएका छन् । दुई समुदायका युवा–युवतीबीच प्रेम विवाह भएको र विवाद बढ्दै जाँदा सोमबार झडप भई तनाव सिर्जना भएको प्रहरीले जनाएको छ ।

झण्डै चार महिना अगाडि फरक समुदायका युवा–युवतीबीच विवाह भएपछि विवाद भइरहेको गाउँमा आज गाडीले मान्छे हानेको विषयलाई लिएर विवाद उग्र बनेको बताइएको छ । नवलपरासी पश्चिमका निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले घटनाबारे भने, ‘गाडीले ठक्कर दिएको विषयलाई दिएर दुई समुदायबीच विवाद भयो । विवाद मिलाउन जाँदा केही प्रहरी, सशस्त्र र दुई स्थानीय घाइते भएका छन् । प्रहरीको गाडी जलाइएको छ ।’

विवाद हुँदा नजिकै रहेको पुरानो टायरको ग्यारेजमा आगजनी गरिएको र ग्यारेज नजिकैको घरमा रहेको मान्छे बचाउन गएको प्रहरीको गाडीमा बलेको टायर फालेर आगजनी गरिएको घिमिरेले बताएका छन् । झडपमा घाइते भएका विजय धवल र बैजनाथ प्रसाद लोहनियालाई अस्पताल पठाइएको छ ।

अहिले अवस्था सामान्य रहेको उनले बताए । झडपलाई नियन्त्रणमा लिन रुपन्देहीबाट समेत थप प्रहरी खटाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरका अनुसार थप मद्दतका लागि ५० जना प्रहरी पठाइएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड अश्रु ग्यास र ३ राउन्ड हवाइ फायर गरेको छ ।