रारा तालको किनारमा अवस्थित डाँफे होटेलमा आगलागी

रारा तालको किनारमा अवस्थित डाँफे होटेलमा आगलागी


मुगु । रारा तालको किनारमा अवस्थित डाँफे होटेलमा गए राति आगलागी भएको छ। आगलागीले काठैकाठबाट बनेका तीन वटा भवन जलेर नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार होटेलको भान्साबाट सुरु भएको आगोले त्यहाँ रहेका ग्याँसको सिलिन्डर पड्किँदा अन्य तीन भवन जलेका हुन्। स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए।

आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो। होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल, सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको छ। आगलागीबाट के कति क्षति भयो भन्नेबारे विवरण आइनसकेको प्रहरीले जनाएको छ।