काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडीबाट सम्मानित भएकी छिन् । शनिबार योङ स्टार फाउण्डेसनले बिभागीय टोली शसस्त्र प्रहरी बल एपिएफकी मिडफिल्डर समेत रहेकी प्रीतिलाई १ लाख नगदसहित सम्मान गरेको हो ।
योङ स्टार फाउण्डेसनका अध्यक्ष मोहन विक्रम सिंहले प्रीतिलाई सम्मान र अवार्ड प्रदान गरेका थिए । ‘राष्ट्रिय महिला लिगमा उत्कृष्ट प्रदर्शन र फोर नेसन्समा समेत प्रीतिले निकै राम्रो खेल खेल्नुभयो । लिगमै उत्कृष्ट प्रदर्शन गरेको देखेपछि सम्मान गरेको हुँ,’ उनले भने ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको एन्फा महिला लिगमा प्रीतिको सानदार प्रदर्शनसँगै एपिएफले लगातार तेस्रो पटक उपाधि उचालेको थियो । योङ स्टार फाउन्डेसनले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) सँग सहकार्य गर्दै खेलाडी छनोट गरेको हो ।
प्रीतिले यो सम्मानसँगै खेलकुदमै लाग्न हौसला बढेको बताइन् । ‘ यो सम्मानले एकदमै खुशी लागेको छ । यस्ता सम्मानले गर्दा महिला खेलाडीलाई खेलमै केन्द्रित रहन सहयोग पुग्नेछ,’ उनले भनिन् ।
प्रतिक्रिया