काठमाडौं- पूर्व गृहसचिव तथा नेपाल बिमा प्राधिकरणका पूर्व अध्यक्ष सूर्यप्रसाद सिलवालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।
नपाएको ओहोदा पाएको तथा पदमा रहन जन्ममिति कीर्ते गरेको अभियोगमा उनीविरुद्ध गत मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
तीन महिना पनि नपुग्दै उनले मुद्दाबाट सफाइ पाएका हुन् । अख्तियारले १५ साउन ०८० पछि उनले लिएको पारिश्रमिकबापतको ३६ लाख ६२ हजार रुपैयाँलाई भ्रष्टाचारको बिगो मानी गत २४ मंसिरमा मुद्दा दायर गरेको थियो ।
आइतबार विशेष अदालतका न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा तथा मुरारीबाबु श्रेष्ठको इजलासले सफाइ दिने फैसला गरेको हो ।
पदमा रहनकै लागि उनले जन्ममिति सच्याएको आयोगको अभियोग थियो । उनले २४ फागुन ०३२ मा नागरिकताको प्रमाणपत्र लिएका थिए । पछि जिल्ला प्रशासन कार्यालयबाट ०६६ सालमा प्रतिलिपि लिँदा २२ कात्तिक ०१६ साल भनी जन्ममिति उल्लेख गरेका थिए । तर, निजामती सेवा प्रवेश गर्दा नै उनले १५ साउन ०१५ भनी जन्ममिति घोषणा गरेका थिए । सिटरोलका साथै त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्रमा समेत त्यही जन्ममिति उल्लेख थियो । त्यही विवरणलाई आधार मानेर उनले १५ साउन ०७३ मा अवकाश लिएका थिए ।
पछि उनी बिमा समितिको अध्यक्षमा नियुक्त भए । त्यतिवेला सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, ०७३ अनुसार राजनीतिक नियुक्ति र मनोनयनमा सार्वजनिक पदमा पुगेको व्यक्ति ६५ वर्ष पूरा भएका व्यक्ति अवकाश हुनुपर्ने व्यवस्था थियो । तर, १५ साउन ०८० मा अवकाश पाउनुपर्ने सिलवालले पछि भने आफ्नो जन्ममितिबारे फरक दाबी गरेका थिए । २४ कात्तिक ०१८ मा आफ्नो जन्ममिति रहेको दाबी गर्दै उनले ६५ वर्षपछि समेत पदमा बहाल रहेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया