हामीले बुलेटबाट होइन, ब्यालेटबाट शान्ति ल्याएका हौँ : सञ्चारमन्त्री गुरुङ

हामीले बुलेटबाट होइन, ब्यालेटबाट शान्ति ल्याएका हौँ : सञ्चारमन्त्री गुरुङ


काठमाडौँ- सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली जनताले सामान्तवाद र राजतन्त्र ‘बुलेट’बाट नभइ ‘ब्यालट’बाट पराजित गरी देशमा शान्तिपूर्ण ढङ्गले राजनीतिक परिवर्तन गरको बताएका छन्।

यदु स्मृति प्रतिष्ठानले आज काठमाडौँमा आयोजना गरेको २६औँ यदु स्मृति दिवसको कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले नेकपा माओवादीले भन्दै आएको जनयुद्ध हिंसात्मक भएकाले गलत भएको टीप्पणी गरे।

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले माओवादीले रुकुम–रोल्पाबाट थालेको हिंसात्मक गतिविधिको छाप अझै पनि मुलुकमा रहेकाले त्यसबाट देशलाई मुक्ति दिलाउने दायित्व हामी सबैको भएको बताए।

नेपालमा शान्तिपूर्ण क्रान्तिमा नेकपा एमाले र नेपाली कांग्रेसले महत्पूर्ण भूमिका खेल्दै आएको उदाहरण दिँदै उनले भने, “हामीले मत खसालेर राजा फालेको इतिहास छ । माओवादीले हिंसात्मक बाटो रोजे, जसले मुलुकको विकासमा २५ वर्ष पर धकेलिएको छ ।”

हिंसात्मक गतिविधि सञ्चालन गरेको विषयलाई माओवादीले आत्मसाथ गर्नुपर्ने उनले धारणा व्यक्त गरे । उनले पछिल्लो समय हिंसाको अर्को आवरणको रुपमा सामाजिक सञ्जालको गलत प्रयोग भइ समाजमा विकृति र विसङ्गति मौलाएको भनी चिन्ता व्यक्त गरे।

सामाजिक सञ्जालको प्रयोग गरी भइरहेको हिंसात्मक गतिविधि रोकथाम गर्नु राज्यको दायित्व भएकाले धार्मिक सहिष्णुता, जातीय एकता, सामाजिक सद्भाव कायम गर्न सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुन बनाउन लागेको उनले दाबी गरेका छन् ।