म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकाल गण्डकी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ ।
आइएमई समूहको लगानीमा हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको आयोजना निर्माण स्थलमा परिचालित भएको सिभिल ठेकेदार सुरुवा मल्टी जेभीले प्रारम्भिक चरणको पूर्वाधार निर्माणको काम थालेको हो । ठेकेदार कम्पनीका इञ्जिनियर विद्युत् जंग रावतले बाँधदेखि सुरुङ निर्माण स्थलसम्म पुग्ने दुई सय मिटर लामो एप्रोच कल्भर्टबाट आयोजनाको भौतिक संरचना निर्माणको काम थालिएको जानकारी दिए ।
आयोजनाका अनुसार अन्नपूर्ण चार किलोमिटर आठ सय मिटर लामो सुरुङबाट ल्याउने पानी अन्नपूर्ण-२ नौनीबगरमा निर्माण हुने विद्युत् गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । सुकेबेगरको इनलेट, नारच्याङ पुल नजिकैको अडिट र नौलीबगरको आउटलेटबाट सुरुङ निर्माण गरिने छ । विद्युत् गृहदेखि आउटलेटको हेड एक सय पाँच मिटर अग्लो छ । रन अफ दर रिभर प्रकृतिको यस आयोजनाको विद्युत् गृह, स्विचार्ड, कन्ट्रोल रुम जमिनभित्र भूमिगत बनाइने भएको छ ।
मध्य कालीगण्डकीको विद्युत् नौली बगरभन्दा छ किलोमिटर माथि दानामा रहेको २२० केभी क्षमताको सवस्टेसनमार्फत केन्द्रीय प्रणालीमा जोडिने छ । आगामी तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको लागत रु. १२ अर्ब ९३ करोड अनुमान गरिएको छ ।
प्रतिक्रिया