दिल्ली सरकारले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला समृद्धि योजना कार्यक्रम घोषणा गरेको छ। यो कार्यक्रम अन्तर्गत दिल्लीका महिलालाई प्रत्येक महिना २ हजार ५०० भारतीय रुपैयाँ (४ हजार नेपाली रुपैयाँ) दिइनेछ।
आम आदमी पार्टीको सरकार भएको बेला भारतीय जनता पार्टीले दिल्लीका महिलालाई २ हजार ५०० भारु दिने घोषणा गरेको थियो। निर्वाचनमा जितेर सरकार बनाएपछि भाजपाले सो घोषणा कार्यान्वयन नगरेको भन्दै आपले प्रश्न गरिरहेको थियो।
शनिबार बसेको दिल्ली क्यानबिनेटको बैठकले यो योजनालाई स्वीकृति दिएको हो। दिल्लीमा ७२ लाख महिला मतदाता छन्। यो योजनाबाट करिब २० लाख महिला लाभान्वित हुने अनुमान छ।
आज दिल्लीका मुख्यमन्त्री रेखा गुप्तासँगै भाजपा अध्यक्ष जेपी नड्डाले यो योजनाको सुरुवात गरेका हुन्। मुख्यमन्त्री गुप्ताले छिट्टै महिलाहरुले यो रकम प्राप्त गर्ने बताएकी छन्।
यो योजनामा सहभागी हुन महिला दिल्लीकै मतदाता हुनुपर्नेछ। महिलाको आय ३ लाख भारुभन्दा बढी भए यो योजना अन्तर्गत रकम उनले पाउने छैनन्।
यस्तै, महिलाको परिवारको आय कर नतिरहेको हुनुपर्नेछ। महिलाको उमेर १८ देखि ६० वर्षको बीचका हुनुपर्नेछ।
सरकारी पदमा भएका र सरकारी लाभ लिइरहेका महिलाले पनि यो सुविधा प्राप्त गर्नेछैन्। यो योजना अन्तर्गत रकम दिन इ-रेजिस्ट्रेसन अनिवार्य गरिएको छ।
प्रतिक्रिया