काठमाडौँ । होली मनाउन शुरु भएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौँ प्रहरी परिसरका अनुसार चेकजाँच र निगरानीका लागि २ हजार ७०० बढी प्रहरी खटाइएको छ ।
काठमाडौँ उपत्यकामा होली मनाउनेहरू भेला भएका छन् । उनीहरू एकअर्कामा रंग, अबिर र पानी छ्याप्दै रमाइलो गरिरहेका छन् । होली मनाउन एक ठाउँबाट अर्को ठाउँमा आउ-जाउ गरिरहेका सवारी चालकहरूलाई लक्षित गरी ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ पनि गरिरहेको छ ।
होली पर्वलाई व्यवस्थित र मर्यादित बनाउन ट्राफिक प्रहरीहरू खटिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
होली पर्वको अवसरमा मानिसहरूले उच्छृङ्खल गतिविधि गर्ने, जथाभाबी लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरू हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।
काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायतका स्थानमा चेकिङ पोष्ट राखिएको छ ।
होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौँका ९० बढी स्थानमा चेक जाँच गर्न टोली खटाएको छ । होली कार्यक्रम स्थल र अन्य सार्वजनिक स्थलमा प्रहरीले सीसीटीभी र ड्रोनबाट पनि निगरानी गरिरहेको छ ।
नेपाल प्रहरीले होली खेल्नेक्रममा अनुशासित र मर्यादित हुन आग्रह गरेको छ । साथै घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह पनि गरेको छ ।
प्रतिक्रिया