सिरहा । सिरहामा महायज्ञका नाममा दलित परिवारमाथि ज्यादती गरिएको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेका छन् । उनीसँगै पूर्ववडाध्यक्ष दिलीप यादवलाई पनि प्रहरी पक्राउ गरेको छ ।उनीहरूलाई शुक्रबार बेलुकी नियन्त्रणमा लिइएको मधेश प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्यले जानकारी दिए । उनीहरूसँग सोधपुछ गर्ने काम भइरहेको र शनिबार पीडित परिवारसँग जाहेरी लिने उनले बताए ।
महायज्ञ लगाउनका लागि सिरहाको औरही–५ का दलित दीपक मलिक डोमको घर भत्काइएको थियो । आयोजक बजरंगी बाबाले महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नमिल्ने भन्दै दीपकको घर भत्काउन आदेश दिएका थिए । त्यसपछि गाउँपालिका अध्यक्ष शिवजी यादवले डोजर पठाएर घर भत्काए । दलित बसेको धर्तीसमेत अपवित्र हुने भन्दै घर भएको ठाउँको माटोसमेत ताछेर फालिएको थियो ।
आयोजक बजरंगी बाबा, गाउँपालिका अध्यक्ष यादव र पूर्ववडाध्यक्ष दिलीप यादव नेतृत्वको समूहले दलित परिवारलाई उठीबास लगाएर मानवबस्तीभन्दा पर एकान्तमा टहरो बनाइदिएको छ । ३० वर्षदेखि बस्दै आएको विपन्न डोम परिवारलाई ‘जनता आवास कार्यक्रम’ ले गाउँपालिकाकै समन्वयमा ५ वर्षअघि केन्द्र सरकारको बजेटमा दुईकोठे पक्की घर बनाइदिएको थियो । तर गत फागुन १० मा गाउँपालिकाकै डोजर लगाएर घर भत्काइएको हो ।
प्रतिक्रिया