वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी सेनाले इरानका तीन आणविक साइट– फोर्डो, नातान्ज र एस्फहानमा आक्रमण गरेको घोषणा गरेका छन्। उनले इजरायलको आणविक कार्यक्रम नष्ट गर्ने प्रयासमा अमेरिका प्रत्यक्ष संलग्न भएको उल्लेख गरे।
ट्रम्पले सामाजिक सञ्जालमार्फत भने, “हामीले फोर्डो, नातान्ज र एस्फहानमा धेरै सफल आक्रमण पूरा गरेका छौँ। फोर्डोमा बमको सम्पूर्ण पेलोड खसालिएको छ। सबै अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिएर सुरक्षित घर फर्किंदै छन्।” उनले यो आक्रमणलाई ‘ऐतिहासिक क्षण’ भन्दै अमेरिकी सेनालाई बधाई दिए र अब शान्तिको समय आएको बताए।
इजरायलले जुन १३ मा इरानमा आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध चलिरहेको छ। यो अवधिमा इरानमा ६५७ जनाको मृत्यु भएको र २,००० भन्दा बढी घाइते भएको तथ्याङ्क सार्वजनिक भएको छ। इजरायलमा भने २४ जनाको मृत्यु भएको र ९०० भन्दा बढी घाइते भएका छन्।
केही दिनअघि ट्रम्पले इरानले आणविक कार्यक्रम नरोके अमेरिका प्रत्यक्ष संलग्न हुने योजना अनुमोदन गरेका थिए। आक्रमणको घोषणापछि ट्रम्प इरान मुद्दामा छलफल गर्न वासिङ्टन डीसी पुगेका छन्, जहाँ उनले राष्ट्रिय सुरक्षा टोलीसँग बैठक गर्ने बताइएको छ।

प्रतिक्रिया