नेपालका घटनाक्रमबारे भारतको टिप्पणी- ‘नजिकबाट नियालिरहेका छौं, संयमता अपनाउन आग्रह’

नेपालका घटनाक्रमबारे भारतको टिप्पणी- ‘नजिकबाट नियालिरहेका छौं, संयमता अपनाउन आग्रह’


काठमाडौँ- भारतले नेपालमा विकसित पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ। मंगलबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै जेन जेडको प्रदर्शनका क्रममा युवाहरूको ज्यान गएको घटनाप्रति दु:ख व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “हामी नेपालमा हिजोदेखि देखिएका घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं। अनेकौं युवा जीवनको क्षतिबाट हामी गहिरो दु:खी भएका छौं। मृतकका परिवारप्रति हाम्रो समवेदना व्यक्त गर्दछौं। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।”

भारतले नेपालसँगको छिमेकी र मित्रताको नाता जोड्दै संयमता अपनाउन र समस्याहरूलाई शान्तिपूर्ण संवादमार्फत समाधान गर्न सबै पक्षलाई आग्रह गरेको छ।

यस्तै, काठमाडौँसहित विभिन्न शहरमा कर्फ्यू आदेश जारी भएको जनाउँदै नेपालमा रहेका भारतीय नागरिकलाई सतर्क रहन र स्थानीय प्रशासनले जारी गरेका निर्देशन पालना गर्न समेत सुझाव दिएको छ।

सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध सुरु भएको जेनजेडको आन्दोलनमा प्रहरीले दमन गर्दा हालसम्म १९ जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन्।

रतीय विदेश मन्त्रालय