सर्लाहीमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

सर्लाहीमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते


सर्लाही। सर्लाहीमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको ईश्वरपुर नगरपालिका – १३ स्थित बाके–संग्रामपुर सडकखण्ड अन्तर्गत ठिल्ला नजिक बुधबार साँझ तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिआर ३० एआर ३४५८, बिआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरका मोटरसाइकलहरू दुर्घटनाग्रस्त अवस्थामा रहेको खबर प्राप्त भएपछी प्रहरीको टोली खटिएको थियो ।

दुर्घटनामा घाइते चार जनालाई एम्बुलेन्समार्फत लालबन्दीस्थित मोडेल अस्पताल पठाइएको थियो। तीमध्ये दुई जनाको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा रिफर गरिएको थियो ।

गम्भीर घाइतेमध्ये हरिपुर्वा नगरपालिका – ९ निवासी सिंगेश्वर रायका छोरा अन्दाजी ३० वर्षीय मुकेश रायलाई राति मलंगवा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । त्यसैगरी, सोही स्थानका रामछबिल्ला रायका छोरा अन्दाजी ३५ वर्षीय रामज्ञान रायलाई पनि राति थप उपचारका लागि मलंगवा पठाइएकोमा राति नै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा हरिपुर्वा नगरपालिका – ९ कै २२ वर्षीय विक्रम राय र ४२ वर्षीय राम विश्वास राय सामान्य घाइते भएका छन्। उनीहरूको मोडेल अस्पतालमा सामान्य उपचारपछि इलाका प्रहरी कार्यालय केशरगञ्जको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल प्रहरी चौकी गौरीशंकरको नियन्त्रणमा रहेका छन् । घटनाबारे चालकको पहिचान तथा दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।