ललितपुर । पाटनको दरबार क्षेत्रमा बुधबार दिउँसो छुरा प्रहारबाट गम्भीर घाइते भएका झापाका दुई सहोदर दाजुभाइको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ का ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङ रहेका छन्। उनीहरूलाई बीएण्डबी अस्पतालमा उपचार गरिँदै थियो। ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसपी गौतम मिश्रका अनुसार, घटनामा संलग्न भएको आरोपमा ललितपुर महानगरपालिका–९ का सञ्जीव नेपाली र नवलपरासीको गैँडाकोटका गगन सुनारसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी अनुसन्धान अनुसार, दुई दिनअघि सुमित नेम्बाङले कुनै नम्बरमा फोन गर्न खोज्दा झुक्किएर सञ्जीव नेपालीको मोबाइल नम्बरमा कल गएको थियो। त्यसक्रममा दुवै पक्षबीच फोनमा विवाद भएको थियो। विवाद मिलाउन भन्दै सञ्जीवले नेम्बाङ दाजुभाइलाई पाटन बोलाएका थिए। इमाडोलबाट पाटन पुगेलगत्तै सञ्जीवले आफ्नो मासु पसलमा प्रयोग हुने मासु काट्ने छुरी र चक्कु प्रयोग गरी दाजुभाइमाथि आक्रमण गरेका प्रहरीले जनाएको छ।
दुवै जना गम्भीर घाइते अवस्थामा अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको हो।
एसपी मिश्रले भने, “घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। आवश्यक विवरण केही समयमा सार्वजनिक गरिनेछ।” प्रहरीले घटनास्थलबाट हतियार समेत बरामद गरेको छ। यो घटनाले पाटन जस्तो घना बस्ती र पर्यटकीय क्षेत्रमा समेत यस्तो हिंसात्मक घटना हुनुले स्थानीयमा त्रास फैलाएको छ।

प्रतिक्रिया