चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र सैनिक जम्काभेट

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र सैनिक जम्काभेट


चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र गस्तीमा खटिएका बेला गैँडासँग जम्काभेट हुँदा नेपाली सेनाका एक सिपाही गम्भीर घाइते भएका छन्। आत्मरक्षाका लागि गोली चलाउँदा गैँडा मरेको छ। घटना बिहीबार दिउँसो १२ः५० बजेतिरको हो। श्री नयाँ गोरख गणअन्तर्गत नवलपुर सेक्टरको सेरी सुरक्षा पोस्टबाट गस्तीमा खटिएका चार सिपाहीसँग अर्ध वयस्क बच्चासहितको आमा गैँडाको अचानक जम्काभेट भएको थियो।

निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापाका अनुसार पैदल गस्तीमा रहेका सिपाहीहरूले गैँडाबाट जोगिन भाग्ने प्रयास गरे। तर गैँडाले लखेटेको लखेट्यै गर्‍यो।  यस क्रममा उनीहरूले १० राउन्डजति हवाई फायर पनि गरे। तर गैँडाले सिपाही विकास घर्तीलाई आक्रमण गर्‍यो र लडाएर लछारपछार गर्न थाल्यो। सहकर्मीको ज्यान बचाउन अर्का सिपाहीले थप दुई राउन्ड गोली चलाउँदा गैँडालाई लाग्यो। गोली लागेपछि करिब २४ वर्षको पोथी गैँडा घटनास्थलमै मरेको सूचना अधिकारी थापाले जानकारी दिए। प्रारम्भिक विवरणअनुसार गैँडाको पेटभन्दा माथि गोली लागेको थियो।

सूचना अधिकारी थापाका अनुसार घाइते सिपाही घर्तीको ढाड, कम्मरलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ। उनलाई तत्काल उद्धार गरी नेपाली सेनाको समन्वयमा काठमाडौँस्थित वीरेन्द्र सैनिक अस्पताल भर्ना गरिएको छ।गम्भीर घाइते उनको आईसीयूमा उपचार भइरहेको छ।