अमेरिका र इरानी प्रतिनिधिमण्डलमा को-को छन् ?

अमेरिका र इरानी प्रतिनिधिमण्डलमा को-को छन् ?


काठमाडौं । अमेरिका र इरानबीच शनिबार पाकिस्तानको राजधानी इस्लामाबादमा महत्वपूर्ण वार्ता हुने भएको छ । पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले यसलाई स्थायी युद्धविरामतर्फको “कठिन तर निर्णायक कदम” भनेका छन् ।इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफको नेतृत्वमा रहेको उच्चस्तरीय इरानी प्रतिनिधिमण्डल शुक्रबार राति इस्लामाबाद पुगेको थियो । नूर खान विमानस्थलमा उपविदेशमन्त्री इशाक दार र पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल असिम मुनिरले उनीहरूलाई स्वागत गरेका थिए ।

अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्नेछन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले भान्ससहित मध्यपूर्व विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनरलाई वार्ताका लागि खटाएका छन् । इरानतर्फबाट सभामुख गालिबाफ र विदेशमन्त्री अब्बास अरघची सहभागी हुने छन् ।प्रधानमन्त्री शरीफले शुक्रबार राति मध्यस्थकर्ताको भूमिकामा पाकिस्तानले पूर्ण इमानदारीका साथ वार्ता सफल बनाउने बताए । “यो वार्ता क्षेत्रीय शान्ति र स्थिरताका लागि ऐतिहासिक अवसर हो,” उनको भनाइ छ ।

तर दुवै देशबीच गहिरो विश्वासको कमी छ । गत वर्ष दुई पटक वार्ता भए पनि दुवै पटक प्रयास असफल भएर द्वन्द्व बढेको थियो । यसपटक आणविक कार्यक्रम, क्षेत्रीय सुरक्षा र स्थायी युद्धविरामका मुद्दामा केन्द्रित हुने अपेक्षा गरिएको छ ।वार्ताको नतिजाले मध्यपूर्वको भविष्य निर्धारण गर्न सक्ने भएकाले अन्तर्राष्ट्रिय समुदायले यसलाई निकै महत्वका साथ हेरिरहेको छ ।