सम्राट चौधरी बिहारको नयाँ मुख्यमन्त्री : भाजपाको पहिलो मुख्यमन्त्री

सम्राट चौधरी बिहारको नयाँ मुख्यमन्त्री : भाजपाको पहिलो मुख्यमन्त्री


 

पटना। बिहारको राजनीतिमा ऐतिहासिक परिवर्तन भएको छ। भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता सम्राट चौधरीले बुधबार बिहारको ३७औँ मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन्। उनी बिहारको इतिहासमा भाजपाबाट पहिलो मुख्यमन्त्री बनेका हुन्।

सम्राट चौधरीसँगै विजय कुमार चौधरी र बिजेन्द्र प्रसाद यादवले पनि मन्त्रीको शपथ लिएका छन्। यो शपथग्रहण कार्यक्रम राज्यपालले सम्पन्न गरेका थिए।

सम्राटको मुख्यमन्त्री बन्ने बाटो जनता दल (युनाइटेड) का अध्यक्ष नितिश कुमारको राजीनामापछि खुलेको हो। नितिश कुमारले हालै राज्यसभा सदस्यको शपथ लिएपछि मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। यससँगै बिहारको राजनीतिमा ‘सुशासन बाबु’ को उपनामले चिनिने नितिश कुमारको करिब २१ वर्ष लामो मुख्यमन्त्री यात्रा समाप्त भएको छ।

नितिश कुमार सन् २००० मा पहिलो पटक सात दिनका लागि मुख्यमन्त्री बनेका थिए भने सन् २००५ नोभेम्बरदेखि स्थायी रूपमा सत्तामा रहे। ७५ वर्षीय नितिशले ५० वर्षभन्दा बढी समय बिहारको राजनीतिमा प्रभुत्व जमाएका थिए। दस पटक मुख्यमन्त्री बन्ने कीर्तिमान राखेका उनलाई ‘मिस्टर बिहार’ पनि भनिन्थ्यो।  सम्राट चौधरीको मुख्यमन्त्री नियुक्तिले बिहारमा भाजपाको प्रभाव विस्तार भएको स्पष्ट संकेत दिएको छ। भाजपाले कुशवाहा समुदायलाई आफ्नो पक्षमा राखेर आगामी २०३० को विधानसभा निर्वाचनलाई लक्षित गरेको विश्लेषकहरू बताउँछन्।

तर बिहारको राजनीति अत्यन्त अस्थिर छ। नितिश कुमारको ५० वर्ष लामो अनुभव र सम्राटको नयाँ नेतृत्वबीच ठूलो अन्तर छ। सम्राटलाई विकास, रोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठोस उपलब्धि हासिल गर्न चुनौती छ।

शपथग्रहणपछि सम्राट चौधरीले भने, “बिहारको विकासलाई नयाँ गति दिन्छु।” उनको सरकारले कसरी काम गर्छ भन्ने कुराले आगामी दिनमा बिहारको राजनीतिक दिशा निर्धारण गर्नेछ।