काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको फैसला कसैको जित–हारको विषय नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय भएको बताएका छन्। सर्वोच्चले आफू नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको बताएका छन्।
उनले भनेका छन्, ‘यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो। पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि, अब आ(आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने मेरो विश्वास छ।’ पार्टीलाई एकताबद्ध बनाउनको लागि सभापतिको हैसियतले सबैभन्दा ठुलो जिम्मेवारी आफ्नै भएको उल्लेख गरेका छन्।
उनले थपेका छन्, ‘पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको छ। महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरौँ। अग्रजहरूको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन अब हामी सबै एक ढिक्का भएर अघि बढौँ।’

प्रतिक्रिया