रुपन्देहीमा ९० लाखको मर्सिडिज बेन्ज बेवारिसे अवस्थामा फेला

रुपन्देहीमा ९० लाखको मर्सिडिज बेन्ज बेवारिसे अवस्थामा फेला


काठमाडौं । रुपन्देही प्रहरीले करिब ९० लाख रुपैयाँ मूल्य पर्ने मर्सिडिज बेन्ज कार बेवारिसे अवस्थामा फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका–८, बसडिलवास्थित खाली जग्गामा पार्किङ गरी राखिएको अवस्थामा भारतीय नम्बर प्लेटको कार बरामद गरिएको हो ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गुजरात राज्यको नम्बर प्लेट (GJ 21CB 6001) भएको मर्सिडिज बेन्ज जीएलसी २०० डी (फोरम्याटिक) कार फेला पारेको हो ।

प्रहरीले बरामद गरेको कारको अनुमानित मूल्य ९० लाख रुपैयाँ रहेको जनाएको छ । आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि कारलाई भन्सार कार्यालय बेलहिया पठाइएको छ ।

भारतीय नम्बर प्लेटको उक्त कार कसले र किन खाली जग्गामा छाडेको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।