राष्ट्रिय भेला आयोजना गर्ने देउवा पक्षको निर्णय

राष्ट्रिय भेला आयोजना गर्ने देउवा पक्षको निर्णय


काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले सर्वोच्च अदालतको फैसलापछि पनि जिल्लादेखि केन्द्रसम्म समानान्तर गतिविधि सञ्चालन गर्ने तयारी गरेको छ । एकताका लागि संस्थापन पक्षलाई आग्रह गरे पनि देउवा पक्षले बैकल्पिक योजना अघि बढाएको हो ।

आज  भएको बैठकमा काठमाडौंमा रहेका देउवा पक्षका पदाधिकारी, प्रदेश सभापतिहरू र पूर्वमुख्यमन्त्रीहरूको उपस्थिति थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता मिनबहादुर विश्वकर्माले भने, “हामी चरणबद्ध रूपमा प्रदेशस्तरीय, जिल्लास्तरीय बैठकहरू गर्दै वृहत् राष्ट्रिय भेला आयोजना गर्नेछौं । अदालतको फैसला हामीलाई चित्त बुझ्ने खालको छैन ।” उनले अर्को पक्षले पहल गरे मात्र एकताको वातावरण बन्न सक्ने बताए ।

अन्यथा पार्टी विभाजनतर्फ जान सक्ने चेतावनीसमेत दिए । “महाधिवेशनका दुई कार्यतालिका छन् । ती समायोजन गरेर एउटै बनाउन सकियो भने एकता भएको मानिन्छ । होइन भने दुईवटा महाधिवेशन हुनेछन् र पार्टी विभाजनतर्फ जान्छ,” विश्वकर्माले भने, “त्यो नहोस् भनेर हामीले सम्बन्धित पक्षलाई एकताको पहल गर्न आह्वान गरेका छौं ।” देउवा समूहले अब यथाशीघ्र निवर्तमान पदाधिकारी तथा सदस्यहरूको व्यापक बैठक बोलाएर चरणबद्ध कार्यक्रम तय गर्ने योजना बनाएको छ ।