अमेरिकाले नियन्त्रणमा लियो इरानी कार्गो जहाज

अमेरिकाले नियन्त्रणमा लियो इरानी कार्गो जहाज


जेन्सी । अमेरिका र इरानबीच भएको युद्धविराम कायम रहन्छ कि रहँदैन भन्ने चिन्ता बढेको छ । अमेरिकाले आफ्नो नाकाबन्दी तोड्ने प्रयास गरेको इरानी कार्गो जहाज नियन्त्रणमा लिएको जनाएको छ भने इरानले त्यसको प्रतिशोध लिने चेतावनी दिएको छ ।

क्षेत्रमा दीर्घकालीन शान्ति स्थापना गर्ने प्रयास पनि कमजोर देखिएको छ, किनकि इरानले मंगलबार युद्धविराम समाप्त हुनुअघि सुरु गर्ने अपेक्षा गरिएको वार्ताको दोस्रो चरणमा सहभागी नहुने जनाएको छ ।अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी कायम राखेको छ भने इरानले होर्मुज जलडमरूमध्य हुँदै जाने समुद्री यातायातमा आफ्नो नाकाबन्दी कहिले हटाउने र फेरि लगाउने गरिरहेको छ । विश्वको झण्डै पाँचौँ भाग तेल आपूर्ति हुने यो जलमार्ग अत्यन्त संवेदनशील मानिन्छ ।

अमेरिकी सेनाले आइतबार इरानी झण्डा बोकेको कार्गो जहाजमाथि गोली चलाएको र उक्त जहाज इरानको बन्दर अब्बासतर्फ गइरहेको जनाएको छ । ‘हामीले जहाज पूर्ण रूपमा नियन्त्रणमा लिएका छौँ र भित्र के छ भनेर जाँच गरिरहेका छौँ,’ राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् ।

इरानको सेनाले उक्त जहाज चीनबाट आइरहेको बताएको छ । ‘अमेरिकी सेनाको यस सशस्त्र समुद्री डकैतीविरुद्ध हामी छिट्टै प्रतिक्रिया जनाउनेछौँ,’ सरकारी सञ्चारमाध्यमका अनुसार एक सैनिक प्रवक्ताले भने । यस घटनापछि तेलको मूल्य उकालो लागेको छ भने शेयर बजारमा उतारचढाव देखिएको छ । व्यापारीहरूले खाडी क्षेत्रमा जहाज आवतजावत न्यून रहने सम्भावनालाई आकलन गरिरहेका छन् ।

इरानले वार्ता अस्वीकार गर्‍यो    इरानी सरकारी सञ्चारमाध्यमका अनुसार तेहरानले नयाँ शान्ति वार्ता अस्वीकार गरेको छ । नाकाबन्दी, धम्कीपूर्ण अभिव्यक्ति र वासिङ्टनको बदलिँदो अडान तथा ‘अत्यधिक माग’ लाई कारण देखाइएको छ ।इरानका प्रथम उपराष्ट्रपति मोहम्मदरेजा आरिफले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अरूलाई स्वतन्त्र सुरक्षा अपेक्षा गर्दै इरानको तेल निर्यातमा प्रतिबन्ध लगाउन मिल्दैन । विकल्प स्पष्ट छ—सबैका लागि स्वतन्त्र तेल बजार, वा सबैका लागि ठूलो लागतको जोखिम ।’

यसअघि ट्रम्पले इरानले आफ्ना सर्त अस्वीकार गरे देशका सबै पुल र विद्युत् केन्द्र ध्वस्त पार्ने चेतावनी दिएका थिए । इरानले पनि अमेरिकाले आफ्नो नागरिक पूर्वाधारमा आक्रमण गरे खाडी क्षेत्रका अमेरिकी आधारस्थल रहेका अरब मुलुकका विद्युत् र पानी प्रशोधन केन्द्रहरूमा प्रहार गर्ने चेतावनी दिएको छ ।

हुन नसक्ने वार्ताको तयारी

ट्रम्पले आफ्ना दूतहरू सोमबार साँझ पाकिस्तानको इस्लामाबाद पुग्ने बताएका छन्, युद्धविराम समाप्त हुन एक दिनअघि । ह्वाइट हाउसका एक अधिकारीका अनुसार अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्नेछन् । उनी एक साताअघि भएको पहिलो वार्तामा पनि सहभागी थिए । टोलीमा ट्रम्पका दूत स्टिभ विटकोफ र ज्वाइँ जेरेड कुश्नर पनि रहने बताइएको थियो । तर ट्रम्पले पछि भान्स नजाने बताएका छन् ।

मुख्य मध्यस्थकर्ताको भूमिका खेलेको पाकिस्तान वार्ताको तयारीमा देखिएको छ । आइतबार दुई ठूला अमेरिकी C-17 कार्गो विमान इस्लामाबाद नजिकैको एक हवाई अड्डामा अवतरण गरेका छन्, जसले सुरक्षा सामग्री र सवारी साधन ल्याएको पाकिस्तानी सुरक्षा स्रोतहरूले बताएका छन् ।

इस्लामाबादमा सार्वजनिक यातायात र भारी सवारी साधन आवतजावत रोकिएको छ । गत साता वार्ता भएको सेरेना होटल वरिपरि काँडेतार लगाइएको छ र होटलले सबै पाहुनालाई बाहिरिन आग्रह गरेको छ ।  युद्ध आठौँ सातामा प्रवेश गर्दा विश्व ऊर्जा आपूर्तिमा ऐतिहासिक धक्का पुगेको छ । होर्मुज जलडमरूमध्य लगभग बन्दजस्तै हुँदा तेलको मूल्य तीव्र रूपमा बढेको छ ।

फेब्रुअरी २८ देखि सुरु भएको युद्धमा अमेरिका–इजरायलको आक्रमण तथा लेबनानमा इजरायली सैन्य कारबाहीका कारण हजारौँ मानिस मारिएका छन् । इरानले त्यसको जवाफ इजरायल र अमेरिकी आधारस्थल रहेका नजिकका अरब मुलुकहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेर दिएको छ ।

इरानका संसद् सभामुख मोहम्मद बाकर कालीबाफले वार्तामा केही प्रगति भए पनि आणविक विषय र जलडमरूमध्यसम्बन्धी मुद्दामा अझै ठूलो मतभेद रहेको बताएका छन् । ट्रम्पबाट आलोचित युरोपेली सहयोगीहरूलाई भने अमेरिकाले छिटो र सतही सम्झौता गर्न खोजिरहेको चिन्ता छ, जसका लागि प्राविधिक रूपमा जटिल थप वार्तामा महिनौँ वा वर्षौँ लाग्न सक्ने उनीहरूको आकलन छ । रोयटर्सको सहयोगमा