निवर्तमान कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकाल्दै खड्काले भने – विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्नू

निवर्तमान कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकाल्दै खड्काले भने – विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्नू


काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले विद्यार्थी संघ–संगठनमाथि हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

नेपाली कांग्रेस का निवर्तमान कार्यवाहक सभापति खड्काले मंगलबार जारी प्रेस वक्तव्यमा लोकतन्त्रको मूल आधारमाथि प्रहार हुने गतिविधि तत्काल रोक्न आग्रह गरेका हुन् । यसअघि आफ्नो पद कार्यवाहक सभापति उल्लेख गर्दै आएका खड्काले यो विज्ञप्तिमा भने निवर्तमान कार्यवाहक सभापति उल्लेख गरेका छन् ।

सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधता दिएपछि खड्का कार्यवहाक सभापति नलेख्ने निर्णयमा पुगेका थिए । त्यसअघि नेपाली कांग्रेसले उनलाई सातदिने स्पष्टीकरण सोधेको थियो ।

बालेन सरकारले विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन तथा दलीय ट्रेड युनियन हटाउने निर्णय लिएपछि त्यसको व्यापक विरोध भइरहेको छ । यसबारे खड्काले नेपालको लोकतान्त्रिक आन्दोलनमा विद्यार्थी संगठनहरूको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै तिनै संगठनमाथि अंकुश लगाउने प्रयास अस्वीकार्य भएको बताएका छन् । ‘पञ्चायती व्यवस्थाको दमनकारी कालखण्डदेखि २०४६ र २०६२/६३ का जनआन्दोलनसम्म विद्यार्थीहरूले महत्वपूर्ण योगदान दिएका छन्,’ वक्तव्यमा भनिएको छ ।

उनले वर्तमान सरकारले लोकतान्त्रिक मूल्य–मान्यताविपरीत विद्यार्थी संघ र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अस्तित्वमाथि प्रहार गर्ने निर्णय गर्नु अधिनायकवादी कदम भएको टिप्पणी गरेका छन् । विद्यार्थी संगठनहरूलाई राजनीतिक दलसँग वैचारिक रूपमा जोडिएका मात्र नभई सामाजिक चेतना र नेतृत्व विकासका महत्वपूर्ण संस्थाका रूपमा उनले व्याख्या गरेका छन् ।

वक्तव्यमा विद्यार्थी संगठनभित्र देखिएका कमजोरी सुधार गर्न सरकार र सरोकारवालाबीच संवाद आवश्यक रहेको पनि औंल्याइएको छ । ‘संरचनागत सुधारका विषयमा गम्भीर छलफल हुन सक्छ, तर प्रतिबन्ध समाधान होइन,’ खड्काको भनाइ छ ।