काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक सोमबार बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।
बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ । कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाएको छ ।
चुनाव भएको एक महिनाभन्दा धेरै समय भइसक्दा पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन । विशेष महाधिवेशन प्रकणदेखि आन्तरिक विवादमा फसेको कांग्रेसमा संसदीय दलको नेता चयन हुन नसक्नु पनि यही विवादले काम गरेको छ । कांग्रेसका प्रतिनिधिसभामा ३८ सांसद् छन् । तीमध्ये ईण जना समानुपातिकतर्फ निर्वाचित हुन् भने १८ जना प्रत्यक्ष निर्वाचित भएका थिए । समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची तत्कालीन सभापति शेरबहादुर देउवाले तयार पारेका थिए भने प्रत्यक्षको उम्मेदवार विशेष महाधिवेशनपछि सभापति गगन थापाले चयन गरेका हुन् ।
देउवाले बनाएको समानुपातिक सूचीमा उनीनिकटकै बाहुल्यता छ । जसका कारण संसदीय दलमा पार्टीको लाइनभन्दा अर्को लाइनको बहुमत छ । जसले गर्दा पार्टीको इच्छाअनुसार संसदीय दलको नेता चयन हुने स्थिति बनेको छैन । त्यसमाथि सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबीच नै संसदीय दलको नेताका लागि प्रतिस्पर्धा भएको छ ।
थापा रसुवाबाट निर्वाचित मोहन आचार्यलाई नेता बनाउने पक्षमा छन् भने उपसभापति शर्मा समानुपातिकतर्फबाट निर्वाचित पूर्व सहमहामन्त्री भिष्मराज आङ्देम्बेको पक्षमा छन् । यी दुवै जना यसअघि शेरबहादुर देउवानिकट थिए । त्यसो त अर्जुननरसिंह केसीले पनि संसदीय दलको नेतामा दाबी गरेका छन् ।

प्रतिक्रिया