लिपुलेक प्रकरण : चीन र भारत दुवैलाई नेपालले पठायो कूटनीतिक नोट

लिपुलेक प्रकरण : चीन र भारत दुवैलाई नेपालले पठायो कूटनीतिक नोट


काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गरिएको कैलाश मानसरोवर यात्राबारे नेपालले आफ्नो अडान स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलले जारी गरेको विज्ञप्तिमा नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्न लागिएको भनिएको कैलाश मानसरोवर यात्राप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

मन्त्रालयले विभिन्न सञ्चारमाध्यममा उठेका प्रश्न र चासोप्रति प्रतिक्रिया जनाउँदै नेपाल सरकार आफ्नो भू-भागसम्बन्धी अडानमा स्पष्ट र अडिग रहेको दोहोर्‍याएको छ।

विज्ञप्तिअनुसार सुगौली सन्धि (१८१६) कै आधारमा लिम्पियाधुरा, लिपुलेक र कालापानी महाकाली नदीपूर्व पर्ने नेपालको अभिन्न भू-भाग भएको तथ्यमा सरकार पूर्णतः स्पष्ट रहेको उल्लेख छ ।

नेपाल सरकारले उक्त क्षेत्र हुँदै सञ्चालन गरिने भनिएको तीर्थयात्राबारे आफ्नो सरोकार र अडान भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः जानकारी गराइसकेको जनाएको छ । यसअघि पनि सो क्षेत्रमा सडक निर्माण वा विस्तार, सीमा व्यापार तथा तीर्थाटनजस्ता कुनै पनि गतिविधि नगर्न भारत सरकारलाई निरन्तर आग्रह गर्दै आएको मन्त्रालयले स्पष्ट पारेको छ ।

त्यसैगरी, लिपुलेक क्षेत्र नेपाली भू-भाग रहेको विषयमा चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल र भारतबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै ऐतिहासिक सन्धि, तथ्य, नक्सा र प्रमाणका आधारमा सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्ने प्रतिबद्धता नेपाल सरकारको रहेको मन्त्रालयले जनाएको छ ।