विजयको पूरा नाम जोसेफ विजय चन्द्रशेखर हो। उनको जन्म २२ जुन १९७४ मा चेन्नईमा भएको थियो। बुबा एसए चन्द्रशेखर तमिल सिनेमाका चर्चित निर्देशक थिए भने आमा शोभा गायिका थिइन्। फिल्मी माहोलमा हुर्केका विजयले निकै सानो उमेरमै अभिनय सुरु गरेका थिए। उनका बुबाले उनलाई ‘वेट्री’ फिल्ममा बाल कलाकारका रूपमा काम गर्ने मौका दिएका थिए। सानैदेखि विजयले आफ्नो भविष्य सिनेमामै छ भन्ने तय गरिसकेका थिए। कलेजमा उनले भिजुअल मिडिया पढ्न सुरु गरेका थिए तर अभिनयको हुटहुटीका कारण बिचमै पढाइ छाडे।
पछि उनकी आमा शोभाले एउटा स्क्रिप्ट लेखिन् र बुबा एसए चन्द्रशेखरले त्यसमा फिल्म बनाए। यही फिल्म ‘नालैया थिरपु’ (१९९२)बाट विजयले हिरोका रूपमा डेब्यु गरे। यद्यपि, यो फिल्मले बक्स अफिसमा अपेक्षाअनुसारको सफलता पाउन सकेन तर यसले विजयको करियरको जग बसाल्यो।
सुरुवाती पहिचानदेखि ‘थलपति’ सम्म
विजयको सुरुवाती करियरको पहिचान ‘फर्मुला फिल्म’ सँग जोडिएको थियो जसमा एक्सन र रोमान्टिक गीतहरूको भरपूर मिश्रण हुन्थ्यो। तर समयसँगै उनको यो छवि बदलियो।कमेडी, एक्सन र सामाजिक विषयवस्तुमा आधारित फिल्महरूमा उनले आफ्नो छुट्टै पहिचान बनाए र बिस्तारै साधारण हिरोबाट ‘थलपति’ (सेनापति) बने।
‘गिल्ली’ जस्ता सुपरहिट फिल्मले उनलाई ‘मास हिरो’ को छवि दियो र साना बालबालिकालाई समेत उनको फ्यान बनायो। त्यस्तै ‘कथी’ ले उनको अभिनयलाई सामाजिक र राजनीतिक सन्देशसँग जोड्यो भने ‘थेरी’, ‘मर्सल’ र ‘बिगिल’ जस्ता फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड कायम गरे। अभिनयका साथै विजयलाई उत्कृष्ट डान्सर पनि मानिन्छ।
व्यक्तिगत जीवन
लन्डनमा हुर्किएकी संगीता विजयका फिल्महरू हेरेर उनको फ्यान बनेपछि विजयको व्यक्तिगत जीवनमा महत्त्वपूर्ण मोड आयो। बिस्तारै दुईजनाबिच मित्रता बढ्यो र यो सम्बन्ध अघि बढ्यो। २५ अगस्ट १९९९ मा परिवारको सहमतिमा विजयले संगीतासँग विवाह गरे। विवाहपछि संगीता उनको व्यक्तिगत कस्ट्युम डिजाइनर बनिन् र भनिन्छ आज पनि विजय आफ्नी पत्नीले छानेर दिएका कपडाहरू नै लगाउँछन्।
राजनीतिमा प्रवेश
फेब्रुअरी २०२४ मा विजयले औपचारिक रूपमा राजनीतिमा कदम राखे र आफ्नो पार्टी तमिलगा वेट्री कड़गम ९टीवीके० को घोषणा गरे। उनले आफू संसदीय निर्वाचन ९२०२४ लोकसभा० नलड्ने र कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने स्पष्ट पारे। आफ्नो ध्यान सन् २०२६ को विधानसभा चुनावमा केन्द्रित हुने उनले बताएका थिए। यस घोषणासँगै उनले आफूले सिनेमा छोड्दै गरेको पनि बताएका थिए।
टीवीकेको पहिलो र्याली २७ अक्टोबर २०२४ मा तमिलनाडुको विल्लुपुरम जिल्लाको विक्रवान्डीमा भएको थियो जहाँ ठूलो भिड जम्मा भएको थियो। मञ्चबाट विजयले मानिसहरूलाई विभाजन गर्ने राजनीति गर्ने पार्टीहरूको कडा आलोचना गरे र त्यस्ता शक्तिहरू वैचारिक रूपमा आफ्नो पार्टीका विरोधी भएको बताए। उनले द्रविड मोडलको नाममा धोखाधडी गर्ने र ‘एउटै परिवारले राज्य लुटिरहेको’ आरोप पनि लगाए।
राजनीतिमा आउनुअघि विजयको परिवारमा पनि विवाद सुरु भएको थियो। उनका बुबा एसए चन्द्रशेखरले पहिले नै ‘अल इन्डिया थलपति विजय मक्कल इयक्कम’ नामको पार्टी दर्ता गराएका थिए।
यसलाई लिएर विजय र उनका बुबाबिच मतभेद सार्वजनिक भयो। विजयले आफ्ना आमाबुबासहित ११ जनाविरुद्ध उजुरी दर्ता गराउँदै आफ्नो नाम कुनै पनि चुनावी गतिविधि वा भिड जुटाउनका लागि प्रयोग नगर्न माग गरेका थिए।
‘इन्डियन एक्सप्रेस’ का अनुसार चन्द्रशेखरले यसअघि पनि विजयको फ्यान क्लबलाई ‘अल इन्डिया थलपति विजय मक्कल इयक्कम’ को रूपमा राजनीतिक पार्टी दर्ता गराउने प्रयास गरेका थिए। यस विवादपछि विजयले एक विज्ञप्ति जारी गर्दै भनेका थिए, ‘म मेरा प्रशंसक र सर्वसाधारणलाई यो कुरा प्रस्ट पार्न चाहन्छु, मेरो बुबाको राजनीतिक पार्टी र मबिच प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै पनि सम्बन्ध छैन।’
सिनेमा छोड्ने घोषणा
जनसभालाई सम्बोधन गर्दै विजयले राजनीतिमा आउनका लागि आफूले अभिनय करियर र कमाइ दुवै पछाडि छोडेको बताएका थिए। उनले राजनीतिमा सक्रिय भएपछि अभिनय छोडेर पूर्ण रूपमा समाज सेवा गर्ने कुरा पहिल्यै प्रस्ट पारिसकेका थिए। सेप्टेम्बर २०२४ मा प्रोडक्सन हाउस केभीएनले आधिकारिक रूपमै फिल्म ‘थलपति ६९’ विजयको अन्तिम फिल्म हुने घोषणा गरेको थियो।
पार्टीको विचारधाराबारे के भनेका थिए ?
आफ्नो पहिलो र्यालीमा विजयले टीवीकेको विचारधाराबारे विस्तृत रूपमा कुरा गरेका थिए। उनले भनेका थिए, ‘हामी द्रविड राष्ट्रवाद र तमिल राष्ट्रवादलाई अलग गर्दैनौँ। यी दुवै यस माटोका दुई आँखा हुन्। हामीले आफूलाई कुनै खास पहिचानमा मात्र सीमित राख्नु हुँदैन।’
विजयले आफ्नो पार्टी धर्मनिरपेक्षता र सामाजिक न्यायका सिद्धान्तमा आधारित हुने बताएका थिए। टीवीके पेरियारले देखाएको बाटोमा हिँड्ने र यसमा महिला सशक्तीकरण तथा सामाजिक न्यायका कुरा समावेश हुने उनले बताए। यद्यपि, उनले पेरियारको नास्तिकतासम्बन्धी विचारलाई भने आफूले स्वीकार नगर्ने स्पष्ट पारे।
यसबाहेक विजयले टीवीकेले राज्यमा दुई भाषा नीतिलाई समर्थन गर्ने पनि प्रस्ट पारे। उनले सरकारी कामकाज तमिल र अंग्रेजी दुवै भाषामा हुनुपर्ने बताएका थिए। विजयको भनाइ अनुसार उनको पार्टीले जातीय जनगणनालाई पनि समर्थन गर्छ।

प्रतिक्रिया