सीमाञ्चलमा अवस्थित आर्थिक राजधानी वीरगञ्ज

सीमाञ्चलमा अवस्थित आर्थिक राजधानी वीरगञ्ज


काठमाडौंस्थित विमानस्थलमा म र रितेश त्रिपाठी भेट्दा दिउँसोको करिब ३ बजेको हुँदो हो । त्रिपाठी मधेशबाट उदाएका चर्चित युवा पत्रकार हुन् । स्पष्टवक्ता र विषयवस्तुमा गहिरो अनुसन्धान गर्न रुचाउने पत्रकारका रुपमा चिनिने त्रिपाठी पछिल्लो समयमा काठमाडौंमा क्रियाशील छन् । हामी दुवै जनाको गन्तव्य थियो सीमाञ्चलको नेपाली शहर वीरगञ्ज ।

नेपाल–भारत पत्रकार ‘कन्कलेभ’

वीरगञ्जमा भोलि अर्थात् २०८२ भदौ १४(३० अगस्त २०२५)मा नेपाल र भारतको सीमावर्ती क्षेत्रमा सक्रिय पत्रकारको उपस्थितिमा ‘नेपाल क्रस बोर्डर मिडिया कन्क्लेभ’को आयोजना हुँदै थियो । आयोजक थियो ‘मिडिया फोर बोर्डर हार्मोनी’ । म उक्त कार्यक्रममा आमन्त्रित थिएँ र सहभागी हुन त्यता गइरहेको थिएँ । रितेश भने आयोजकमध्येकै थिए । उनी आयोजक संस्थाका महासचिव पनि हुन् । उक्त संस्थामा नेपाल र भारतका गरी दुईजना अध्यक्ष रहने प्रावधानअनुरुप नेपालका अध्यक्ष वीरगञ्जका अग्रज पत्रकार अनील तिवारी हुन भने भारततर्फबाट मुजफ्फरपुरका अग्रज पत्रकार अमरेन्द्र तिवारीले नेतृत्व गरिरहेका छन् । पछिल्लो समयमा यो संस्था सरोकारवालाबीच निकै प्रभावशाली र लोकप्रिय मानिन्छ । निकै वर्ष भयो, यो संस्थामा आबद्ध दुवै देशका पत्रकारले नेपाल र भारतको पत्रकारिताका माध्यमबाट सीमामा रहेर दुवै देश र स्थानीय जनताबीच सद्भाव तथा भाइचाराको सम्बन्ध विकसित गर्न योगदान पुर्‍याइरहेका छन् ।

बोर्डिङ पास लिएर हामी विमानस्थलभित्र जाँदा थाहा भयो, विमान उड्न त ढिला छ । करिब साढे तीन बजेका लागि निर्धारित हाम्रो उडान अब पाँच बजेतिर मात्र सिमराका लागि उड्ने जानकारी दिइएको थियो । स्मरणीय छ, विमानबाट वीरगञ्ज जाने हो भने सिमरासम्म विमानबाट उडेर र त्यहाँबाट गाडीबाट वीरगञ्ज पुग्न सकिन्छ । विमान उडानमा ढिला हुँदा पनि मलाई समस्या थिएन, आयोजक जो मसँगै थिए । मैले र रितेशले विमानस्थलमा वीरगञ्जको वर्तमान र भविष्य, नेपालको पत्रकारिता, काठमाडौ र मोफसलबीच पत्रकारिताको दूरी, नेपाली समाज, मधेश समाज–राजनीतिको मनोविज्ञान आदि थुप्रै विषयमा छलफल गर्यौं । रितेशको धेरै कुरासँग म सहमत थिएँ । मलाई लाग्यो रितेशले मधेश मनोविज्ञानको मिहीन ढंगले अध्ययन र विश्लेषण गरेका छन् ।

नेपालको छोटो दूरीको विमान यात्रा

अन्ततः साँझ करिव सवा पाँच वजेतिर हाम्रो विमान उड्यो । सम्भवतः नेपालमा सबैभन्दा छोटो दूरीको विमान यात्रा हो काठमाडौ–सिमरा । यो रुटको उडानमा बस्नेबित्तिकै गन्तव्य आइहाले जस्तो लाग्छ, त्यसैले झ्यालतिरको सिटले खासै अर्थ राख्दैन । करिव १७/१८ मिनेटको उडान दूरी हो यो । त्यसो त मैले नेपालमै यो भन्दा सानो दूरीको उडानको अनुभव पनि सँगालेको छु । अहिले त छैन, तर पहिला करिब ११/१२ मिनेटको नेपालगञ्ज–सुर्खेत उडान हुने गर्दथ्यो । कोहलपुर–चिसापानी, छिन्छु–सुर्खेत सडक सञ्चालनमा आएपछि यो उडान सेवाको सञ्चालन रोकिएको छ । म सिमरा उडानको कुरा गर्दै थिएँ, सानो दूरीको उडानमा झ्यालको खोजी म खासै गर्दिनँ । तर संयोग मेरो सिट झ्यालमै परेछ । प्रकृतिको दृश्यपान गर्दै विमानको यात्रा रमाइलै हुन्छ ।

वीरगञ्ज मेरा लागि नालो त होइन…

वीरगञ्ज मेरालागि नौलो होइन । अनेकौं पटक गएको छु । माताजीका अनुसार मेरो बालापन वीरगञ्जमै प्रारम्भ भएको हो । मेरो जन्मसँगै २०२४ सालको वैशाखपछिका करिव १७/१८ महिना माईथानको कुनै घरमा मैले विताएको छु रे । लोकसेवा आयोगको नारायणी अञ्चल कार्यालयको स्थापना गरेका मेरा पिताजी सँगै हाम्रो परिवारले वीरगञ्जमा केही समय विताएको माताजीको स्मृतिमा ताजै छ । त्यसपछि लामो समयसम्म म वीरगञ्ज गएको मलाई सम्झना छैन । तर हिमालय टाइम्समा कार्यरत रहँदा शायद २०५४ तिर म वीरगञ्ज गएको र अग्रज पत्रकार शत्रुघन नेपालको घरमा पाहुना लागेको सम्झन्छु । त्यसपछि त विविध प्रयोजनार्थ विभिन्न समयमा अनेकौं पटक वीरगञ्ज गएको सम्झना मलाई छ । प्रत्येक पटकको बसाई सम्झन सम्भव छैन ।

कोरोनाकालमा पत्रकार शिव लम्सालसँग वीरगञ्ज गएर त्यहाँबाट फर्कँदा कोरोनाको सन्त्रासमा ५/६ दिन अत्यन्तै पीडमा बिताएको सम्झना छ । पछिल्ला वर्षमा भने मेरो यहाँको यात्रा पत्रकारितिाकै सेरोफेरोमा केन्द्रीत रहने गरेको म सम्झन्छु । खै किन हो, यस पटकको वीरगञ्जको यात्रा मलाई खास लािगरहेको थियो । भारतका अग्रज पत्रकारसँग भेट र उनीहरुसँग हुने सम्भावित छलफलले शायद मलाई तानिरहेको थियो । विमानबाट वीरगञ्ज जाँदा काठमाडौदेखि सिमरासम्मको भूगोल मेरो मनमष्तिस्कलाई कण्ठै छ । सिमरा आउन थालेको थियो । मैले यसअघि कहिल्यै यसरी विचार गरेको थिइन, विमानकोे झ्यालबाट तलतिर नियाल्दा मधेसका समथर फाँटहरू हरियो कार्पेट ओछ्याएझैँ देखिँदो रहेछ ।

काठमाडौंको व्यस्तता र पहाडका घुम्तीहरूलाई पछाडी छाडेर करिव बीस मिनेटको उडानपछि हामी सवार बुद्ध एयरको विमान सिमरा विमानस्थलमा अवतरण गर्यो । एउटा छुट्टै तातो हावाको झोक्काले स्वागत गरेझै लाग्यो । सिमरा विमानस्थलको टर्मिनलमा पाइला टेक्दा मनमा वीरगन्जमा भोलीदेखि हुने अन्तर्राष्ट्रिय छलफलप्रतिको कौतुहलता र त्यहाँ प्राप्त हुने भारतीय पत्रकारसँगको सान्निध्यले कनमा अनेकौं जिज्ञासा उत्पन्न भइरहेको थियो । कन्क्लेभ आयोजक समितिका अध्यक्ष पत्रकार अनिलसँग हामी सम्पर्कमा थियौं । उनले विमानस्थलमा गाडी पठाइदिएका थिए । सञ्चाकर्मी अनुज शैलेश कुशवाहा गाडी लएर सिमरा आएका थिए । सिमरा आएर पो थाहा भयो, त्यही विमानमा माधव गुरागाईँलगायतका कन्क्लेभका अन्य सहभागी पनि रहेछन् । म र रितेश शैलेशको गाडीमा सवार भएर लाग्यौं वीरगञ्जतिर ।

होटेलकै कोठामै ‘कैद’

नयाँ यात्रुका लागि सिमराबाट वीरगञ्जसम्मको यात्रा आफैँमा एउटा रोचक अनुभव हुन सक्छ । सम्भवतः नेपालको सबैभन्दा ठूलाृ औद्योगिक कारिडोर हो यो । यो बाटोले प्रत्येक नेपालीमा एक प्रकारको आशा जागृत गर्दछ । नेपालमा केही त औद्योगिक–आर्थिक गतिविधि सञ्चालित छ भन्ने सन्तोष दिन्छ । पथलैया–वीरगन्ज औद्योगिक कोरिडोरका ठूला–ठूला चिम्नी र कारखानाले नेपालको आर्थिक मेरुदण्डको झलक दिइरहेका थिए । जितपुरका सडक किनारका पसल र मानिसको चहलपहल देख्दा मधेसको गतिशीलताबारे सहजै अनुमान लगाउन सकिन्थ्यो । करिव आधा घण्टाजतिको यात्रापछि हामी वीरगञ्जस्थित होटल भिस्वा पुगेका थियौ ।

होटेल पुग्दा साँझको करिव साढे छ बजिसकेको थियो । अँध्यारो त भइसकेको थिएन तर आसन्न थियो । होटेलमा केहीबेर आराम गरेपछि एकछिन बाहिर जाने सोचमा थिएँ म । भोलीको कार्यक्रमको तयारीमा जुट्नुपर्दा बाहिर जान सकिएन । होटेलको कोठमै कैद भएर म र र रितेश भोलीको कार्ययोजना निर्माणमा जुट्यौं । केहीबेरपछि अनील, क्रान्ति शाह, राम सर्राफ र राधेश्याम पटेल पनि आइपुगे । हामी सबैजना अबेर रातिसम्म भोलीको कार्यक्रमको तयारीका क्रममा व्यस्त रह्यौं ।

विमानस्थलपछि होटेल र होटेलपछि एउटा कोठामा सीमित भयो त्यो दिन र रात । कोठामै बसेर केही साथीसँग फोन सम्पर्क गरी म वीरगञ्जमा भएको जनाउ दिने काम गरे मैले । यहाँ आउँदा दाजु जगदीश शर्मा, चन्द्रकिशोर दीपेन्द्र चौहान, कन्हैयालाल केशरी, शत्रुघन नेपाल, रामनारायण कुर्मी, अशोक तिवारी, महेश दास, ओमप्रकाश खनाल, शिवनाथ यादव, केसी लामिछाने, श्याम वञ्जारा, विजय चौहान, हिमाल लम्साल, पवन तिवारी, अनुप तिवारी, श्रीराम रायमाझी, रामराज यादव, आरसि यादव, जयमोद ठाकुरलगायतसँग मेरो भेटघाट हुने गरेको छ । मैले यस पटक पनि अधिकांशलाई फोन सम्पर्क गर्ने प्रयत्न गरेँ । कतिसँग सम्पर्क भयो, कतिसँग हुन सकेन । धेरै मित्रलाई भनियो–भोली विहान घण्टाघरमा चिया खाने । अग्रज पत्रकार चन्द्रकिशोरजीको पिताजी अस्वस्थ्य रहेको जानकारी प्राप्त भयो । भोलीको कार्यक्रममा शायद चन्द्रकिशोरको आउने सम्भावना कमैजस्तो छ । कार्यक्रमको व्यस्तताका कारण उनको घर जान सकिएन ।

घडिअर्वा घुमियो, घण्टाघरमा चिया खाइएन

भोलीपल्ट अर्थात् कनक्लेभको दिन अर्थात् १४ भदौ २०८२ । म विहानी भ्रमणका लागि खासै सक्रिय रहन्न तर आज विहान एकछिन बाहिर घुमेर आउने विचार गरें । शहरको मुटु मानिने घण्टाघर हुँदै घडिअर्वा पोखरीतर्फ लागेँ । पछिल्लो समयमा वीरगन्जको पहिचान बन्दै गरेको घण्टाघर र घडिअर्वा पोखरीको विशेष महत्व छ । नेपालको आर्थिक राजधानी मानिने वीरगञ्जमा आयोजना हुने भव्य छठ पर्वका लागि यो पोखरी निकै प्रसिद्ध छ । पोखरीको चारैतिर बनाइएका पदमार्ग र बीचमा रहेको मन्दिरले शहरको कोलाहलबीच पनि एक प्रकारको शान्ति प्रदान गरिरहेको भान हुन्छ । यो पोखरी यहाँको धार्मिक र सांस्कृतिक परिचयको पर्याय पनि हो । साँझपख जब पोखरीका बत्तीहरू बल्न थाल्छन्, यसको सुन्दरता झन् निख्रिएर आउँछ, तर यसपटक त्यो दृश्य अवलोकन गर्न पाउने अवसर मलाई उपलब्ध छैन ।

पछिल्लो समयमा द्रुतगतिमा विकास गरिरहेको शहर हो – वीरगञ्ज । नेपालको सबैभन्दा ठूलो भन्सार कार्यालय रहेको वीरगञ्ज नाकाबाटै नेपालको अधिकांशजस्तो वैदेशिक व्यापार हुने गरेको छ । सुखा बन्दरगाह र त्यहाँसम्म रेल सेवाको उपलब्धताका कारण यहाँको आर्थिक गतिविधि तीव्र बन्न मद्दत पुग्ने गरेको छ । यतिमात्र होइन पछिल्लो समयमा मधेश आन्दोलनको केन्द्रीय भूमी र नाकाबन्दीताका शंकराचार्य द्वारको जमघटका कारण वीरगञ्जको राजनीतिले नयाँ उँचाई प्राप्त गरेको छ ।

शंकराचार्य द्वारको म आफ्नो पुरानो अनुभवका आधारमा भन्न सक्छु, सिमानानजिकैको चहलपहल हेर्दा लाग्छ यहाँ समय कहिल्यै रोकिँदैन । मानिसका अनुहारमा व्यस्तता भए पनि एकप्रकारको आत्मीयता देखिन्छ । २००७ सालको क्रान्तिताका महत्वपूर्ण भूमिका निर्वाह गरेको वीरगञ्जको चर्चा सन १८१६ को सुगौली सन्धीका कारण पनि हुने गरेको छ । वीरगञ्जभन्दा केहीपर आजको भारतीय भूमी सुगौलीमा इस्ट इण्डिया कम्पनीको सरकारसँग काठमाडौको सत्ताले सन्धी गर्न बाध्य हुनुपरेको थियो । राजनीतिसँगै भूगोल विभाजन हुँदा पनि विभाजित हुन नसकेको समाजले सन्धीका कारण वेहोर्न परेको पीडा आज पनि वीरगञ्जको अनुहारमा अनुभूत गर्न सकिन्छ ।

वीरगञ्जमा माइस्थान वजार निकै चर्चित छ । माइस्थान मन्दिर वीरगन्जको धार्मिक आस्थाको केन्द्र पनि हो । मन्दिर दर्शन गर्ने र घण्टाघरमा मित्रहरुसँग चियापान गर्ने योजनालाई मैले विराम दिन बाध्य हुनुपर्यो । एक त समयको चाप अर्को झाडापखालाको हल्ला । यसपटक वीरगञ्जको चहलपहल पहिलेको तुलनामा कम भएकोजस्तो लाग्यो । बुझ्दै जाँदा यसपटक यहाँ झाडापखालाको संक्रमण फैलिएको हल्ला चलेको छ । वीरगञ्ज त्यहाँका गल्लीमा पाइने ’स्ट्रीट फूड’का कारण पनि प्रसिद्ध छ । मैले त यसपटक समय पाउन सकिन तर मलाई यसको अनुभव छ । वीरगञ्ज घुम्न आउनेले यसको स्वाद लिन सक्छन् ।

यो शहर छेवैको कलैयानजिकको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिर जाने द्वार पनि हो । यहाँको लिङ्क रोड र आदर्शनगर क्षेत्र पनि महत्वपूर्ण गन्तव्य हो । आदर्शनगर वीरगन्जको आधुनिक स्वरूप हो, जहाँ ठूला व्यापारिक मल र कर्पोरेट कार्यालयहरू छन् । भोजपुरी भाषा, साहित्य र संस्कृतिको केन्दीय स्थलका रुपमा स्थापित वीरगञ्ज सामाजिक सद्भावको शहरका रुपमा चिनिन्छ । यहाँ भोजपुरीका अतिरिक्त नेपाली र मैथिली भाषा, साहत्य र संस्कृतिले पनि उत्तिकै सम्मान र मर्यादा पाएका छन् । वीरगन्ज एउटा यस्तो ठाउँ हो जहाँ पहाड र मधेस सबै सँगै अटाएका छन् भनेर भनियो भने गलत हुने छैन ।

भिस्वामा ‘कन्क्लेभ’को चहलपहल

म हाटेल फर्कँदा करिव आठ बजिसकेको थियो । कार्यक्रमका सहभागी आउन थालिसकेका थिए । मैले पनि आफूलाई तयार गरेँ र खाजा खाएर कार्यक्रमस्थलतिर लागें आयोजक साथीहरु आइसकेका थिए । अमरेन्द्रको नेतृत्वमा भारतीय पत्रकारको बाक्लो उपस्थिति थियो । मैले प्रायःसबैसँग भेटेँ । केहीको नाम मैेले पहिले पनि सुनेको थिएँ भने अधिकांश नाम मेरालागि नयाँ थिए । भारतका प्रसिद्ध अग्रज पत्रकारहरु विवेक चन्द्र, मोहनकुमार सुधांशु, प्रभात कुमार, रञ्जन कुमार, शिवेश झा, लक्ष्मीकान्त तलेरपाठी र अमरेन्द्र तिवारीलगायतसँग भेट्नु र द्विपक्षीय विषयमा छलफल गर्न पाउनु मेरालागि निकै महत्वपूर्ण थियो ।

यस कार्यक्रममा दुई देशबीचको राटी–बेटीको सम्बन्धलाई मात्र होइन, धार्मिक र सांस्कृतिक सामीप्यलाई पनि यो सम्मेलनले वल पुर्याउने उद्देश्य राखिएको थियो । यस्तै दुबै देशको समाज जोड्ने र पत्रकारिताका माध्यमबाट स्थानीय समाजमा शान्ति स्थापना गर्ने उद्देश्य पनि आयोजकले राखेको जानकारी दिइएको थियो । त्यो दिन कार्यक्रममै वित्यो । बाहिर जान पाइएन, समय नै उपलब्ध भएन । मेरा एकजना अतिप्रीय छन (नेपोभिट टायल्सका सञ्चालक शम्भुनाथ झा)उनको जन्मदिनको उत्सव थियो त्यो दिन । म वीरगञ्ज आउने थाहा पाएपछि उनले जन्मोत्सवमा सहभागी हुन आमन्त्रण गरेका थिए तर कार्यक्रमको एकतमासको चटारोले म उनको जन्मोत्सवमा उपस्थित हुन सकिन ।
त्यसबेला झाडापाखालाको संक्रमण समुदाय स्तरमा फैलिएको मानिएको थियो । बाहिरको खाना र पानीको सेवन घातक हुन सक्ने स्थानीय साथीहरुको भनाई थियो । त्यसैले पनि बाहिर जाने र खाने छुट थिएन । यही झाडापखालाकै कारण स्थानीय वजारमा चहलपहलको अभाव अनुभव गरिएको थियो । हामी बसेको होटेलभन्दा करिब सय मिटर पश्चिमको दूरीमा रहेको बाइपास सडक कटेर आउने अर्को चोक पानीटंकी सेकुवाका लागि निकै प्रसिद्ध छ । खसी र कुखुराको सेकुवा तथा अरु मांसाहारी परिकारका लागि यहाँ पारखीको भीड लाग्ने गर्दछ । दूर्भाग्य, झाडापाखालाको संक्रमणको डरले त्यसको लाभ लिन पाइएन । वीरगन्ज बसाईका क्रममा बिहान महावीर स्थानको पुरी जिलेबी र माइस्थानको दहीको स्वाद लिने इच्छा पनि पुरा गर्न पाइएन । यसपटक आदर्शनगरको माटोको कुल्हडको चिया पनि छुट्यो । पान त छुट्ने नै भयो ।

वीरगन्जलाई बुझ्न एक/दुई दिनको समयमात्र पर्याप्त छैन । वीरगञ्ज एक शहरमात्र होइन यो त सभ्यताको उत्कृष्ट पाठशाला पनि हो । कार्यक्रम सम्पन्न भएको भोलिपल्ट अर्थात २०८२ भदौ १५ गतेको बिहानै म, रितेश, माधव र जनकपुरकी पत्रकार प्रतिभा झा सिमरातर्फ लागियो । हामी सिमराबाट उडानमार्फत काठमाडौ फर्कने कार्यक्रम थियो भने प्रतिभा सिमरामै आफन्तकोमा जाने कार्यक्रम थियो । फर्कने क्रममा गाडीको झ्यालबाट देखिएका दृश्यहरू अहिले नौला लागेनन् ।