हेलिकप्टर सेवाले मुदीका ‘होमस्टे’ बन्द हुन थाले

हेलिकप्टर सेवाले मुदीका ‘होमस्टे’ बन्द हुन थाले


म्याग्दी । धौलागिरि हिमाल को चक्रीय पदमार्गमा पर्ने मुदी लगायतका बस्तीमा हेलिकप्टर पर्यटन र सडक विस्तारका कारण पर्यटकको चहलपहल घट्दै गएको छ । धौलागिरि आधार शिविर हुँदै मुस्ताङको मार्फा निस्कने प्रसिद्ध पदमार्गमा आउने पर्यटक अहिले सिधै हेलिकप्टरमार्फत आधार शिविर पुग्न थालेपछि स्थानीय ‘होमस्टे’ व्यवसाय र मजदुरी प्रभावित बनेको स्थानीयवासीले बताएका छन् ।

मुदीका व्यवसायी गणेश घर्तीले पर्यटकको चाप बढेपछि सञ्चालन गरिएको सामुदायिक घरवास अहिले बन्द गरेर बाख्रापालन सुरु गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार पर्यटक घटेसँगै भारी बोक्ने मजदुरको रोजगारीसमेत संकटमा परेको छ । धवलागिरि गाउँपालिका–४ का वडाध्यक्ष यामप्रसाद घर्तीले हेलिकप्टर सेवा र जलविद्युत् आयोजनाले बनाएको सडकका कारण पदयात्रा छोटिएको बताउनुभयो ।

पहिले बेनीदेखि धौलागिरि आधार शिविर पुग्न नौ दिन लाग्ने भए पनि अहिले दोभानसम्म सडक पुगेपछि दुई दिनमै यात्रा सम्भव भएको उहाँको भनाइ छ । स्थानीयले मुदी–गुर्जा पदमार्गको सम्भाव्यता अध्ययन र धौलागिरि संरक्षण क्षेत्र घोषणा गर्न माग गरेका छन् । ‘फोरटिन पिक्स एक्सपिडिसन’का स्थानीय प्रतिनिधि इन्द्रसिंह शेरचनले भरियामार्फत सामान ढुवानीभन्दा हेलिकप्टर प्रयोग सस्तो पर्ने भएकाले पर्यटकले पदमार्ग प्रयोग गर्न छाडेको बताउनुभयो । यसैबीच बुधबार धौलागिरि हिमाल आरोहणको ६६औँ दिवस मुदीमा मनाइएको छ । सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरको टोलीले पहिलोपटक धौलागिरि हिमाल आरोहण गरेको थियो ।

गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा भएको कार्यक्रममा वक्ताहरूले पदमार्ग संरक्षण, वैकल्पिक पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तनको असरबारे छलफल गरेका थिए । गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल ले धौलागिरि क्षेत्रको अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्न सके स्थानीयको जीवनस्तरमा सुधार आउने बताउनुभयो । प्रदेशसभा सदस्य रेशम जुग्जाली ले वैकल्पिक पदमार्ग विकास र आन्तरिक पर्यटन केन्द्रित कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभयो ।